काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट ३६ अर्बले घटाएको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै आगामी वर्षका लागि मन्त्रालयका लागि १ खर्ब ३१ अर्ब ३९ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।
गत वर्ष मन्त्रालयले १ खर्ब ६७ अर्ब १८ करोड बजेट विनियोजन गरेको थियो । चालु आवमा विनियोजित बजेट खर्च गर्न नसकेपछि अर्थमन्त्री महतले भौतिक मन्त्रालयको बजेट घटाएका हु्न । चालु आवको १० महिनामा मनत्रालयले विनियोजित बजेटको करिब ४० प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ ।
कुन आयोजनाले कति पाए ?
आगामी आर्थिक वर्षका लागि काठमाडौं–तराईरमधेश द्रुतमार्गका लागि २२ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्री महतले बजेट भाषणमा ठेक्का लाग्न बाँकी रहेकाको ठेक्काको व्यवस्थापन गरिने र २०८३सम्म निर्माण सम्पन्न गरिने घोषण गरेका हुन् ।
त्यसैगरी, पूर्व(पश्चिम राजमार्गलाई चार लेनमा विस्तार तथा स्तरोन्नति गर्न ३१ अर्ब २ करोड बजेट छुट्याइएको छ । नारायणगढ–बुटवल, कमला–कञ्चनपुर खण्ड, कमला–ढल्केवर–पथलैया, बुटवल–गोरुसिङ्गे, काँकडभिट्टा–लौकही, पथलैया–नारायणगढ र लमही–भालुवाङ सडकखण्डको स्तरोन्नति गर्न उक्त रकम छुट्याइएको हो । यसैगरी नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरू गरिने उनले बताए ।
यसैगरी, हुलाकी राजमार्ग अन्तर्गत ८ खण्डका सडक स्तारोन्तीका लागि सरकारले ३ अर्ब ३९ करोड बजेट विनियोजन भएके छ ।
यस्तै, पुष्पलाल (मध्यपहाडी) राजमार्गका लागि ३ अर्ब, मदन भण्डारी राजमार्ग अन्तर्गत इलाम, सुनसरी, गुल्मी, कैलाली डडेधुराका लागि २ अर्ब ४१ करोड विनियोजन गरिएको छ ।