व्यावसायिक संचालनमा आयो लुम्बिनी केबलकार, टिकटको मूल्य कति ?

काठमाडौं । बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबलकार सोमबारदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ ।

बुटवल उपमहानगरपालिका–३ बमघाटमा आधार ‘स्टेशन’ रहेको केबलकारको ‘टप स्टेसन’ पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुरमा रहेको उक्त केबलकार हिजाेदेखि व्यावसायिक रुपमा संचालनमा आएको हो ।

लुम्बिनी केबलकार प्रालिमार्फत निर्माण गरिएको २.६ किलोमिटर दूरीको केबलकार व्यावसायिक रुपमा संचालनमा आएको कम्पनीका सञ्चालक चन्द्रप्रकाश ढकालले जानकारी दिए ।

उनले बुटवलबाट प्रदेशको राजधानी सरेको र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको अवस्थामा केबलकार सञ्चालनले बुटवल तथा भैरहवा क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

‘राजधानी र अन्तर्राष्ट्रिय विमानस्थलका कारण यस क्षेत्रमा होटल तथा पर्यटनका क्षेत्रमा ठूलो लगानी भएको छ,’ उनले भने, ‘राजधानी बुटवलबाट सरेको र विमानस्थल पूर्ण रुपमा सञ्चालनमा नआउँदा लगानी खेरजाने चिन्तामा रहेका व्यवसायीलाई केबलकारको सञ्चालनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ ।’

केबलकारको दुईतर्फी भाडा १ हजार रुपैयाँ तोकिएको छ । यस्तै, ३ देखि ४ फिटसम्मका बालबालिकाका लागि ४५० रुपैयाँ, फरक क्षमता भएकाका लागि ३७५ रुपैयाँ, ज्येष्ठ नागरिक, विद्यार्थी र स्थानीयका लागि ५६५ रुपैयाँ कायम गरिएको छ ।

उद्घाटनका अवसरमा सीमित अवधिका लागि नेपाली नागरिकलाई दुईतर्फी ७५० रुपैयाँ र विदेशीलाई २२ अमेरिकी डलर कायम गरिएको कम्पनीले जनाएको छ । ८० वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क सेवा दिइनेछ।

वसन्तपुरमा क्यासिनोसहितको १५० कोठाको पाँचतारे होटल, रेष्टुरेण्ट, मन्दिरलगायत संरचना निर्माण गरी आकर्षक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित यो परियोजनाका लागि रु ५ अर्ब लगानी भएको उनले जानकारी दिए । परियोजनाका लागि मुख्य लगानीकर्ता आइएमई समूहले ५१ प्रतिशत र अन्यको ४९ प्रतिशत लगानी रहेको छ ।

केबलकारमा २५  गोण्डुला रहने एउटा गोण्डुलामा एकैपटक आठ जनाले यात्रा गर्न सक्नेछन् भने प्रतिघण्टा अधिकतम ६०० यात्रु आवातजावत गर्न सक्ने छन् । विसं २०७७ फागुन १ गते शिलान्यास गरिएको केबलकार पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक ५ हजार यात्रुले आवातजावत गर्न सक्ने कम्पनीले जनाएको छ ।

यी हुन् खारेज हुने २० सरकारी संस्थाहरू (सूचीसहित) Read Previous

यी हुन् खारेज हुने २० सरकारी संस्थाहरू (सूचीसहित)

डिप्रोक्स र आदर्श लघुवित्तले तोके एकीकृत कारोबार मिति Read Next

डिप्रोक्स र आदर्श लघुवित्तले तोके एकीकृत कारोबार मिति