काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि बजेट प्रस्तुत गर्दैछन् । उनले अपराह्न ४ बजे बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यतालिका छ ।
सरकारले १० दिनअघि ल्याएको बजेटको टिजर (नीति तथा कार्यक्रम) हेर्दा आज आउने बजेटमा आममानिसले अपेक्षा नै राखेका छैनन्भन्दा फरक नपर्ला । विगतका वर्षहरूमा पनि बजेट कर्मकाण्डी हुँदै आएको तथ्य हामीबाट लुकेको छैन । आगामी वर्षको बजेट पनि कर्मकाण्डी मात्रै हुने देखिएकाले अधिकांशलाई चासो छैन ।
पछिल्ला ५ बजेटले सरकारको आम्दानी र खर्चको अनुमानित हिसाबको छेउछाउ पनि मिलाप गर्न सकेको छैन । कोभिड १९ संक्रमण र त्यसको प्रभावका बीच अर्थमन्त्रीले बहाना खोज्दै हाम्रो खर्च गर्न सक्ने असक्षमताको ढाकछोप गरेरै भए पनि कर्मकाण्ड चलाएकै छन् । कर्मचारी र नेताले तलब भत्ता एकै छन् । निर्वाचनपछि नयाँ स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार निर्माण भएकै छ । नेपाली नागरिकले भोट हाल्न पाए त्यही ठूलो कुरा हो ।
नागरिक अपेक्षामा सरकार न हिजो प्रतिबद्ध थियो, न भोलि प्रतिबद्ध हुनेछ । सरकार उसको लागि मात्रै ठीक देखिन्छ, जो पावर ब्रोकर छन्, जो बिचौलियाको काम गर्छन्, जसको राजनीतिक पहुँच छ र जसले आफ्नो स्वार्थमा सरकारबाट निर्णय गराउन सक्छ ।
हुन त राजनीति गर्नेहरूले देशलाई ठूलै गुण लगाएका छन् । बुढाबुढी भएपछि वृद्ध भत्ता दिएकै छन् । युवा उमेरमा खाडी घुम्न पठाएकै छन् । यहाँ बसेर उनीहरूले देश थेगिदिएकै छन् । खाडीमा पसिना बगाएर जवानी सकिएपछि फर्कदा बाँझो जमिनको रक्षा भएको पाउने नै छन् । त्यसैले बजेटमा ‘धेरै अपेक्षा होइन, हामीले के दिन सक्छौं, दिन तयार हौं ।’
सुवर्ण शम्शेरदेखि जनार्दन शर्मासम्मले हाम्रो भाग्य बदल्ने बजेट ल्याए । त्यसलाई थप बलियो बनाउन प्रकाशशरण कम्मर कसेर लागेका छन् । पछिल्ला दशकको सबैभन्दा गुपचुप तरिकाले बजेट लेखेका महतले संसदको रोष्टममा उभिएर करिब २ घण्टा लामो भाषण गर्ने छन् । अन्तिममा मिल्ने कुरो त्यही हो ।
यदि तपाईं जस्तो सुकै अल्कोहल पिएर सुत्नु हुन्छ भने थप कर तिर्न तयार रहनु । चुरोट तान्ने बानी छ भने पैसा थप्न तयार रहनु । यस्ता मानव स्वास्थ्यमा हानी गर्ने वस्तुमा कर थप्नु पर्छ । अझै दोब्बर बनाउँदा पनि फरक पर्दैन । यसो भए अर्थमन्त्रीलाई धन्यवाद भनिन्छ । तर, सवारीसाधनमा कर थप्ने, विदेशी उत्पादन कम भन्सार दर र कच्चा पदार्थमा धेरै कर लगाए, चक्लेटदेखि चाउचाउसम्मका आयात नभए पनि चल्ने वस्तुलाई अत्यावश्यक बनाए, सिमेन्ट/डन्डीको निर्यातमा दिएको अनुदान कटाए, एसेम्बली उद्योगमा दिएको अनुदान खारेज गरे, घाटामा रहेका संस्थान पाल्न बजेट निकासा गरे, सांसद विकास कोषको नाममा मनलाग्दी बजेट वितरण गरे डा. महतको क्षमतामै प्रश्न गरिन्छ ।
६ महिना लामो प्रक्रिया पार गर्दै बन्ने बजेटमा अन्तिम घण्टा ठूलो गडबढ हुँदै आएको तीतो यथार्थ सर्वविदित् छ । स्वयम् अर्थमन्त्रीको विवेकभन्दा स्वार्थ समूहको रजगज र दबाबमा करका दर हेरफेर हुने गरेको सुनिँदै र देखिँदै आइएको छ । यो पटक पनि मुख्यगरी विद्युतीय सवारीको कर बढाउन र घटाउन व्यापारिक घराना न्वारानदेखिको बल लगाएर दौडधूप गरिरहेका छन् । आश गरौं अर्थमन्त्रीले ती स्वार्थ समूहलार्ई ढोका बन्द गरुन, विवादमा नआउन ।
अर्थशास्त्रका होनाहार विद्यार्थी, अर्थतन्त्रको बागडोर लामोसमय सम्हालेका डा. रामशरण महतका सहोदर भाइ, नेपाली काँग्रेसका प्रवक्ता, पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्रले आज संसदमा पढ्ने बजेटले आगामी दशकको अर्थतन्त्रको मार्गदर्शक बनाेस् । केबल कागजमा लेखिएको ‘ललिपप भाषण’मा मात्र सीमित नहोस् । शुभकामना ।