काठमाडौं । पछिल्लो डेढ वर्षदेखि निरन्तर ओरालो लागिरहेको सेयर बजार अहिले २ हजार अंकमाथि उक्लिन सकस परिरहेको छ । वित्तीय सूचकहरू पूँजी बजार अनुकूल भए पनि लगानीकर्ताको मनोबल बढ्न नसक्दा नेप्से परिसूचकले उचाइलिन नसकेको हो ।
सरकारले गरेको नीतिगत कडाइका कारण पेनिक भएको सेयर बजारले वित्तीय प्रणालीमा तरलता सहज हुनुको साथै ब्याजदर घट्दा पनि लय समात्न सकेको छैन । वित्तीय क्षेत्रका जानकार अनलराज भट्टराई अहिले बजार बढ्न नसक्नुको कारण लगानकिर्तासँग पैसा र कन्फिडेन्स नभएको बताउँछन् ।
‘पहिले बैंकमा तरलता नभएर ब्याजदर बढ्यो र त्यसले बजार घट्यो भन्ने अवस्था थियो । तर, अहिले तरलता प्रशस्त छ । सीडी रेसियो निकै तल छ,’ उनले भने, ‘यी सबै सूचकहरू बजारका लागि सकारात्मक हुँदाहुँदै पनि बढ्दैन भने लगानीकर्ताको हातमा अहिले चलाउने पैसा र कन्फिडेन्स नै भएन । खर्च निकै बढेको छ । त्यसैले आम्दानीको अधिकांश हिस्सा आधारभूत आवश्यकता पूर्तिमै गइरहेको छ । यो सबैतिरको अर्थतन्त्रमा देखिएको मन्दीको असर हो ।’
अर्थतन्त्रका अन्य क्षेत्रमा देखिएको संकट, राजनीतिक र नीतिगत अस्थिरता लगायत कारण लगानीकर्ताको मनोबल अझै बढेको देखिदैन । जसको कारण एकातिर लगानीकर्ताको सम्पत्तिको मूल्यमा खर्बौ रुपैयाँ गिरावट आएको छ भने अर्कोतिर सरकारले त्यसबापत प्राप्त गर्ने राजस्व समेत गुमेको छ ।
इन्भेष्टर्स फोरम नेपालका अध्यक्ष छोटेलाल रौनियार राष्ट्र बैंकको पूँजी बजारप्रतिको नीतिले लगानीकर्ताको खर्बौंको सम्पत्तिको मूल्यमा गिरावट आएको बताउँछन् ।
‘पूँजी बजारमा ४/१२, जोखिमभार शतप्रतिशतबाट बढाएर १५० प्रतिशत कायम गरियो भने, सीसीडीलाई सीडी बनाइयो,’ उनले भने, ‘त्यसले गर्दा तरलता अभाव भएर ब्याजदर वृद्धि भयो र त्यसको असर पूँजी बजारमा देखियो । राष्ट्र बैंकको यो गलत मौद्रिक नीतिका कारण लगानीकर्ताले १७/१८ खर्ब रुपैयाँ गुमाए ।’
कोभिडपछि नेपाल राष्ट्र बैंकले तरलता प्रवाह खुला छोडेसँगै बैंक तथा वित्तीय संस्थाबाट ठूलो रकम सेयर बजार र घरजग्गामा लगानी भएको थियो । अनुत्पादक मानिने यी क्षेत्रहरूमा भएको ठूलो रकम प्रवाह भएपछि बैंकिङ प्रणालीले त्यसयता तरलता अभावको सामना गरेको थियो ।
तरलता अभाव र सेयर बजारमा भइरहेको कर्जा लगानी रोक्न राष्ट्र बैंकले ब्याजदर वृद्धि, जोखिमभार वृद्धि र ऋण लगानीमा कडाइको नीति लियो । त्यसयता पूँजी बजारका लागि वित्तीय सूचकहरू प्रतिकूल बन्दै गए भने बजार करिब १४ सय अंकले ओरालो लाग्यो । यद्यपि, पछिल्ला दिनहरूमा भने ब्याजदरमा आएको उच्च गिरावट, तरलता सहजले नेप्से परिसूचकको ओरालो यात्रा रोकिएको छ ।
वित्तीय सूचक सहज अवस्थामा
पूँजी बजारका लागि अहिले वित्तीय सूचकहरू अहज अवस्थामा छन् । प्रणालीमा तरलता साढे २ खर्ब रुपैयाँ बढी छ । यसैगरी, ब्याजदर पनि सस्तिएको छ । राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाको औषत सीडी रेसियो ८४.८३ प्रतिशत छ ।
कर्जाको ब्याजदर पनि १२.८४ प्रतिशतमा झरेको छ । पूँजी बजार वृद्धिका लागि सकारात्मक मानिने यी सूचकहरू सहज भए पनि लगानीकर्ताहरूले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको देखिँदैन ।
गत वर्षको तुलनामा यस वर्ष सेयर धितो कर्जामा पनि गिरावट आएको छ । राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाबाट बढीमा १२ करोडभन्दा लिन नपाइने मार्जिन लोनमा क्याप लगाएको छ । सोही कारण लगानीकर्ताले बढी ऋण लिएर बजारमा लगानी गर्न पाएका छैनन् ।
बैंकहरूसँग स्रोत नहुँदा ब्याजदर बढ्ने र त्यसको विपरित सेयर बजार घट्ने सम्बन्ध देखिन्छ । तर, अनुकुल सूचकहरू हुँदा पनि लगानीकर्ताको मनोबल नबढ्दा बजार बढन नसकेको उनीहरू बताउँछन् ।
पूँजी बजारको लागि बजेटमा के आवश्यक ?
भट्टराई धितोपत्र बोर्डको स्वायत्तता बढाउनुपर्ने र लगानी बढाउने वातावरण गर्नुपर्ने बताउँछन् । ‘पूँजी बजारमा विदेशी लगानीकर्तालाई इन्ट्री गर्न दिइएको छैन । त्यसलाई पनि विभिन्न किसिमले ल्याउन सक्नुपर्छ,’ उनले भने, ‘बजारको विविधीकरण गर्न बोर्डको स्वायत्तता बढाउनु पर्छ । करको दरमा पनि सरकारले हेरफेर गर्न सक्छ ।’
पूँजीगत लाभकरमा कम्पनीले दोहोरो कर तिरेकाले त्यसमा पनि हेरफेर गर्नु आवश्यक रहेको उनले बताए । लगानीकर्ताहरू सरकारले बजेटमार्फत पूँजीगत लाभकर घटाउने तथा बजारमा उत्पादनमूलक उद्योगको हिस्सा बढाउने नीति लिनुपर्ने बताउँछन् । हालसम्म बजारमा उत्पादन क्षेत्रको हिस्सा न्यून छ ।
सरकारले चालु वर्षको बजेट मार्फत उत्पादनमूलक क्षेत्रका कम्पनीलाई बजारमा आउने बाटो खुला भएको थियो । सरकारले ल्याएको बजेटलाई नै मौद्र्रिक नीतिले पनि फलो गर्ने भएकाले बजेटबाटै पूँजी बजार सुधारका लागि सही नीति लिनुपर्ने रौनियारले बताए । पूँजीगत लाभककरमा सरकारले केही हेरफेर गर्न सुझाव दिएको समेत उनले बताए ।
‘क्यापिटल गेन ट्याक्समा ३/५ प्रतिशत मात्र गर्न हामीले सुझाव दिएका थियौ । यसले ५ प्रतिशतलाई ३ र ७ प्रतिशतलाई ५ गर्दा घटेको जस्तो देखिन्छ । तर, कारोबार बढेर सरकारको राजस्व पनि वृद्धि हुन्छ,’ उनले भने । सरकारले हाइड्रोपावरलाई प्राथमिकता दिनेगरी नीति बनाउनुपर्ने र त्यसले मुलुकको समग्र अर्थतन्त्रलाई फाइदा पुग्ने उनले बताए ।
सम्पत्तिको मूल्यमा गिरावट
पछिल्लो डेढ वर्षको अवधिमा लगानीकर्ताको सम्पत्तिको मूल्यमा व्यापक गिरावट आएको छ । बजार घट्दा अघिल्लो वर्षको भदौयता लगानीकर्ताले करिब १६ खर्ब बढी रुपैयाँ गुमाएका छन् ।
२०७८ भदौ २ मा ३ हजार १९९ अंक पुगेको नेप्से परिसूचक अहिले १ हजार ९ सयको हाराहारीमा छ । यस अवधिमा नेप्से परिसूचक करिब १ हजार दुई सय अंकले घटेको छ । नेप्से उच्च विन्दुमा पुग्दा कुल बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब रुपैयाँ थियो भने हाल २८ खर्बमा सिमित भएको छ ।