बेइजिङ । चीनले वर्षौंको अनुसन्धानपछि बनाएको ‘सी ९१९’ हवाइजहाजले व्यावसायिक उडान सुरू गरेको छ ।
चिनियाँ सञ्चार माध्यमहरूका अनुसार उक्त जहाज आइतबार बिहान स्थानीय समय अनुसार १०ः३२ बजे १२० यात्रु बोकेर चीनको सांघाईबाट राजधानी बेइजिङ उडेको हो ।
सन् २०१७ मा पहिलो परीक्षण उडान गरिएको उक्त न्यारोबडी जहाजले ६ वर्षपछि व्यावसायिक उडान थालेको हो । यसअघि नै व्यावसायिक उडान थाल्ने योजना भए पनि कोरोना महामारीका कारण पछि धकेलिएको थियो ।
कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइनाले बनाएको सी ९१९ जहाज चीनले बनाएको पहिलो यात्रुबाहक जहाज हो । यो जहाज बनाउने प्रक्रिया सन् २००९ मा थालनी भएको थियो । झन्डै ८ वर्षको अथक प्रयास र मेहनतपछि सन् २०१७ मा परीक्षण उडान गरिएको थियो । सो जहाज चीनको वायुसेवा प्रदायक कम्पनी चाइना इस्टर्न एयरलाइन्सले किनेको थियो ।
कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइनाका उपाध्यक्ष झाङ युजिनका अनुसार अहिले यो मोडलका १ हजार २०० जहाज किन्न अर्डर आइसकेको छ।
३८.९ मिटर लामो उक्त जहाज ११.९५ मिटर अग्लो छ। जहाजको नाममा भएको सीको अर्थ चाइना, ९ को अर्थ दीर्घकालसम्म टिक्ने र १९ को अर्थ १९० सिट क्षमता भन्ने हो।
यो जहाजले अमेरिकी जहाज निर्माता कम्पनी बोइङ र यूरोपेली निर्माता एयरबससँग प्रतिस्पर्धा गर्ने चीनको योजना छ ।