चौतारा । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी भन्सारबाट लक्ष्यभन्दा ज्यादै कम राजस्व सङ्कलन भएको छ ।
आर्थिक वर्ष २०७९/८० को वार्षिक लक्ष्य रु ४ अर्ब ३२ करोड ९५ लाख ७५ हजार रहेकामा वैशाखसम्मको असुली रु २ अर्ब ५४ करोड १४ लाख २ हजार ४८२ सङ्कलन भएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बताए ।
केसीका अनुसार वैशाखसम्मको लक्ष्य रु ३ अर्ब ८१ करोड ४५ लाख ७० हजार रहेको थियो । हालसम्म ६६.६६ प्रतिशत प्रगति भएको उनले जानकारी दिए।
गत वर्षको तुलनामा केही प्रतिशत प्रगति देखिए पनि खासै प्रगति हुन नसकेको उनको भनाइ छ । तातोपानी नाकाबाट विसं २०७२ को भूकम्पअघि दैनिक डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो । यसपछि २०७६ जेठ १५ गते पुनः सञ्चालनमा आए पनि सो नाका विभिन्न प्राकृतिक अवरोधले पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।