काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले एफपीओ (थप सेयर) निष्काशन गर्ने भएको छ । लघुवित्त संचालक समितिको बैठकको जेठ १३ गते बसेको बैठकले एफपीओ निष्काशन गर्ने निर्णय गरेको हो ।
लघुवित्तले उक्त विशेष प्रस्ताव पारित गर्न असार ३ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सभा अरनिको पार्टी प्यालेस बनेपामा साधारण सभा हुँदैछ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक सेयरधनीहरुको सेयर अनुपात ७० प्रतिशत र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ निष्काशन गर्ने भएको हो । साधरण सेयरधनीको हिस्सा ३० प्रतिशत कायम गर्न लघुवित्तले ८ लाख ५३ हजार ६६५ कित्ता सेयर प्रिमियम मूल्यमा जारी गर्ने भएको हो ।
यस्तै, लघुवित्तले सभामा गत वर्षको मुनाफाबाट घोषणा गरेको १३.५६ प्रतिशत लाभांश पारित गर्ने, नेशनल माइक्रोफाइनान्ससँग एक आपसमा गाभिनका लागि संचालक समितिलाई अख्तियारी दिनेलगायत एजेन्डा लैजाने भएको छ ।
लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज मिति तोकेको छ। सो अनुसार जेठ २१ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउने छन् ।