राष्ट्रिय गौरवका सडकको बजेट खर्च निराशाजनक, कुनले कति गरे ?

काठमाडौं । विगतका वर्षहरूमा झैं यस वर्ष पनि राष्ट्रिय गौरवका सडक आयोजनाहरूको बजेट खर्च निराशाजनक रहेको छ । लक्ष्य अनुसार ती आयोजनाहरूको काम हुन नसक्दा बजेट खर्च पनि हुन नसकेको हो ।

चालु आर्थिक वर्ष २०७९/८० मा राष्ट्रिय गौरवका सडक आयोजनाहरूका लागि कुल ५८ करोड २६ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको थियो । सोमध्ये हाल (जेठ १० गते)सम्म कुल बजेटको ३९.९३ प्रतिशत अर्थात् २३ अर्ब २६ करोड रुपैयाँ मात्र खर्च भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

ठेकेदारको ढिलासुस्ती, रुख कटानमा ढिलाइ, निर्माण समग्रीको अभाव, सरकारको वेवास्ता, ठेक्का प्रक्रियामा ढिलाइ लगायत कारणले राष्ट्रिय गौरवका सडकले आयोजनाले गति नलिँदा बजेट पनि खर्च हुन नसकेको हो ।

केही आयोजनाका कामले गति लिए पनि स्रोत अभावमा भुक्तानी हुन बाँकी रहँदा बजेट खर्च न्यून देखिएको मन्त्रालयले जनाएको छ । विभिन्न सडक आयोजनाको १६ अर्ब बढी रकम भुक्तानी हुन बाँकी रहेको छ ।

प्रमुख विकासे मन्त्रालयको रुपमा रहेको भौतिक मन्त्रालयको समग्र बजेट खर्च निराशाजनक रहेको छ । चालु आवको डेढ महिना मात्र बाँकी रहँदा मन्त्रालयको पूँजीगत खर्च ४०.०४ प्रतिशत मात्र रहेको छ ।

मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ खर्ब ६१ अर्ब ५६ करोड बजेट विनियोजन भएको थियो । त्यसमध्ये पूँजीगततर्फ १ खर्ब ५१ अर्ब ४४ करोड छुट्याइएको थियो । सोमध्ये हालसम्म ६० अर्ब ६३ करोड ५९ लाख रुपैयाँ मात्र खर्च भएको छ । राष्ट्रिय गौरवका आयोजनामा पनि सोचेअनुरूप खर्च हुन नसक्दा समग्र मन्त्रालयको बजेट खर्च न्यून भएको हो ।

कुन आयोजनाले कति खर्च गरे ?

समीक्षा अवधिमा राष्ट्रिय गौरवका ७ सडक आयोजना (नागढुंंगा सुरुङमार्गसहित)मध्ये ४ वटाले मात्र आधा बढी बजेट खर्च गरेका छन् । जसमा एउटा आयोजनाले भने बजेटभन्दा धेरै खर्च गरेको छ ।

सरकारले उच्च प्राथमिकतामा राखेको काठमाडौं–तराई/मधेश द्रुतमार्गको बजेट खर्च सबैभन्दा निराशजनक रहेको छ । जेठ १० सम्म आयोजनाले कुल बजेटको २६ प्रतिशत मात्र खर्च गरेको छ । सडक आयोजना मध्ये सबैभन्दा धेरै २९ अर्ब ९९ करोड रुपैयाँ बजेट पाएको द्रुतमार्गले १० महिनामा ७ अर्ब ८३ करोड रुपैयाँ मात्र खर्च गर्न सकेको छ । यो विनियोजित बजेटको २६.११ प्रतिशत मात्र हो ।

७२ किलोमिटर लामो यस सडकखण्डलाई ११ प्याकेजमा विभाजन गरी निर्माणको काम भइरहेको छ । ११ प्याकेजमध्ये अझै २ खण्डको ठेक्का लाग्न सकेको छैन । नेपाली सेनाले निर्माण गरिरहेको यस सडकको हालसम्म कुल भौतिक प्रगति २६ प्रतिशत हाराहारीमा रहेको छ ।

यस्तै, चालु आवमा मध्यपहाडी राजमार्गको बजेट खर्च पनि निकै सुस्त रहेको छ । ९ अर्ब २२ करोड रुपैयाँ बजेट पाएको यस सडकले जेठसम्म ४०.०२ प्रतिशत अर्थात् ३ अर्ब ६९ करोड रुपैयाँ मात्र खर्च गरेको छ ।

चालु आवमा मदन भण्डारी राजमार्गको बजेट खर्च भने उत्साहजनक रहेको छ । यस आयोजनाले विनियोजन गरेभन्दा पनि धेरै बजेट खर्च गरेको छ । २ अर्ब ८४ करोड बजेट छुट्याइएको यस आयोजनाले जेठसम्म १२९.५८ प्रतिशत अर्थात् ३ अर्ब ६८ करोड बजेट खर्च गरेको छ ।

यस्तै, कान्ति लोकपथले तीनचौथाई बजेट खर्च गरेको छ । २० करोड बजेट छुट्याइएको आयोजनाले १४ करोड ११ लाख रुपैयाँ अर्थात् ७०.५५ प्रतिशत बजेट खर्च गरेको हो ।

यसैगरी, उत्तर दक्षिण राजमार्ग (कोशी, कालीगण्डकी र कर्णाली करिडोर)को आधा बजेट खर्च भएको छ । चालु आवमा ४ अर्ब ६२ करोड बजेट छुट्याइएकोमा २ अर्ब ५१ करोड बजेट खर्च भएको छ । यो कुल बजेटको ५४.३३ प्रतिशत हो ।

यस्तै, राष्ट्रिय गौरवकै आयोजना अन्तर्गत रहेको नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनामा पनि सोचेअनुरूप पुँजीगत खर्च हुन सकेको छैन । चालु आवमा पूँजीगततर्फ ५ अर्ब ४० करोड विनियोजन भएकोमा हालसम्म १ अर्ब १६ करोड ८१ लाख रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको २१.६३ मात्र खर्च भएको हो

अबको २ महिनाभित्र काठमाडौंमा भूमिगत लाइनबाट बिजुली वितरण गरिने Read Previous

अबको २ महिनाभित्र काठमाडौंमा भूमिगत लाइनबाट बिजुली वितरण गरिने

समिट लघुवित्तले एफपीओ जारी गर्ने Read Next

समिट लघुवित्तले एफपीओ जारी गर्ने