लघुवित्तले ५ प्रतिशत ब्याज असुल गरी कर्जा पुनरसंरचना गर्न पाउने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले पनि कर्जा पुनरसंरचना/पुनर्तालिकीकरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै असुल हुन बाँकी ब्याजको न्यूनतम ५ प्रतिशत ब्याज असुल गरी कर्जा पुनरसंरचना/पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको हो।

पछिल्लो समय लघुवित्त संस्थाहरुको ऋण असुलीमा भएको कठिनाइलाई मध्येनजर गर्दै राष्ट्र बैंकले लघुवित्त कम्पनी र ऋणी दुवैलाई सहुलियत दिएको हो ।

राष्ट्र बैंकका अनुसार लघुवित्तका ऋणीले अब २०८० असार मसान्तभित्र आफ्नो ऋण पुनरसंरचना वा पुनरतालिकीकरण गर्न सक्नेछन् ।

गत चैत्र मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जा मात्र कर्जा बढीमा १ वर्षका लागि पुनरसंरचना वा पुनरतालिकीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । कर्जा पुनरसंरचना वा पुनरतालिकीकरण गर्न हालसम्म असुल हुन बाँकी रहेको ब्याजको कम्तीमा ५ प्रतिशत रकम असुल उपर भएको हुनुपर्ने छ ।

कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गर्दा असुल हुन बाँकी ब्याजलाई पूँजीकरण गरी आम्दानी जनाउन पाइने छैन । उक्त रकमलाई छुट्टै खातामा लेखांकन गरी ब्याज असुल भएपश्चात् मात्र आम्दानीका रुपमा देखाउन सकिने व्यवस्था छ ।

पुनरसंरचना गर्दा ऋणीबाट कुनै पनि प्रकारको शुल्क–हर्जाना लिन पाइने छैन भने कर्जाको किस्ता लगातार ६ महिनासम्म नियमित भएपछि मात्र त्यस्ता कर्जालाई असल कर्जामा वर्गीकरण गर्न तथा कर्जा नोक्सानी व्यवस्थामा समायोजन गर्न पाइने छ ।

नेपाल पुनर्बीमा कम्पनीले पायो उच्च स्तरको रेटिङ Read Previous

नेपाल पुनर्बीमा कम्पनीले पायो उच्च स्तरको रेटिङ

सेयर किन्न एक्सेल डेभलपमेन्ट बैंकले १.५ प्रतिशत प्रिमियममै ऋण दिने Read Next

सेयर किन्न एक्सेल डेभलपमेन्ट बैंकले १.५ प्रतिशत प्रिमियममै ऋण दिने