कर्मचारीद्वारा ‘पैसा चोरी’का घटना बढ्दो, बैंकमा राखेको पैसा कति सुरक्षीत ?

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट ग्राहकको निक्षेप हराउने क्रम बढ्दो छ । कहिले ह्याकर त कहिले स्वयम् बैंकका कर्मचारीहरूले नै पैसा चोर्ने घट्ना बढ्न थालेका हुन् ।

बैंकका सुरक्षित हुन्छ भनेर राखेको पैसा बैंकबाट एकाएक गायब हुन थालेपछि एकातिर निक्षेपकर्ता सशंकित हुन थालेका छन् भने अर्कोतर्फ नियामक र बैंकहरू झस्किएका छन् ।

गत साता एभरेष्ट बैंकको इँटहरी शाखाबाट बचतकर्ताको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको घटना बाहिरियो । ३३ जना बचतकर्ताको खाताबाट रकम चोरी भएपछि प्रहरीले बैंकको इँटहरी शाखा प्रबन्धकसहित ९ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

उक्त रकम दुरुपयोगको आशंकामा पक्राउ परेकामध्ये ७ जना सोही बैंकका कर्मचारी हुन । यही साता रौतहटको चन्द्रपुर–४ स्थित माछापुच्छ्रे बैंकका सेवाग्राहीको खाताबाट ९ लाख रुपैयाँ हराएपछि बचतकर्ता विरोधमा उत्रिए ।

निक्षेपकर्ताले सेवा नै अवरुद्ध गरेपछि बैंकले अनुसन्धानसहित एक महिनापछि साटिनेगरी ९ लाखको चेक काटिदिएको छ । सहमती अनुसार अनुसन्धानपछि सेवाग्राहीको लापरबाही देखिए रकम पाउने छैनन् ।

ग्राहकको खाताबाट रकम चोरी भएको घटना आउन थालेसँगै वित्तीय संस्थाहरूले सूचना जारी गरेर सचेत गराइरहेका छन् । नबिल बैंकले मंगलबार बैंकको नाम लिएर मोबाइल वा इमेलमा आएको कोड कसैले मागेमा उपलब्ध नगराउन सचेत गराएको छ ।

‘बैंकले इमेल वा फोन मार्फत पासवर्ड वा अन्य गोप्य राख्नुपर्ने जानकारी नसोध्ने भएकाले बैंकको नाम लिएर मोबाइल वा इमेलमा आएको कोड कसैले मागेमा उपलब्ध नगराउनु हुन अपिल छ,’ बैंकले भनेको छ ।

एनएमबी बैंकले नचिनेको व्यक्तिसँग आफ्नो बैंकिङ जानकारी प्रवाह नगर्न आग्रह गरेको छ । यसैगरी, लक्ष्मी, नेपाल इन्भेष्टमेन्ट मेगा लगायत बैंकहरूले मोबाइल मार्फत बैंकका गोप्य सूचना तथा ओटीपी कोड नदिन आग्रह गरेका छन् ।

नेपाल राष्ट्र बैंकका लघुवित्त वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक रेवती नेपाल सर्वसाधारणको निक्षेप सुरक्षणका लागि राष्ट्र बैंकले बैंकहरूमा आन्त्रिक नियमनको व्यवस्था गरिएको बताउँछन् ।

‘आन्तरिक कन्ट्रोलको मेकानिजम बनाउने र सुरक्षा प्रावधान अपनाएर त्यसलाई बैंक तथा वित्तीय संस्थाले आफ्नो कर्मचारीको पहिचान बनाउने, उसको बारेमा रेकर्ड राख्र्ने, जानकारी लिने, दुई जनाको क्रस चेक गरेर मात्र पैसाको कारोबार गर्ने नीतिगत व्यवस्था राष्ट्र बैंकले गरेको छ,’ उनले चाणक्य पोष्टसँग भने ।

यदाकदा काम गर्ने अवधिमा गल्तीहरू हुनसक्ने र त्यसको जिम्मेवार संस्था नै हुने उनले बताए । ‘कर्मचारीको कारणले रकम हिनामिना हो भने त्यसको जिम्मेवार सम्बन्धित बैंक वित्तीय संस्था नै हुनुपर्छ,’ उनले भने, ‘काम गर्ने बेला यदाकदा हजारौं मध्येबाट एकदुई गल्ती हुन सक्छ । तर, त्यसको जिम्मेवारी सोही संस्थाले लिनुपर्छ ।’

निक्षेपकर्ताको रकम  कति सुरक्षित ?

बैंकिङ क्षेत्रका जानकारहरू भने निक्षेपकर्ताको रकम शतप्रतिशत सुरक्षणको ग्यारेन्टी रहेको बताउँछन् । प्रणालीमा सर्वसाधारणको रकम पूर्ण सुरक्षित रहने र निक्षेपकर्ताले आत्तिनुपर्ने अवस्था नरहेको नेपाल बताउँछन् ।

‘कर्मचारी नै दुरुपयोगमा संलग्न छन् भने पनि बैंक जवाफदेही हुनुपर्छ । त्यसैले यसमा सर्वसाधारणको रकम पूर्ण सुरक्षित हुन्छ,’ उनले भने । बैंक स्वयंम् त्यसको लागि जिम्मेवार हुने भएकाले सर्वसाधारणले चिन्तित हुने अवस्था नरहेको उनीहरूको भनाइ छ ।

विश्वसनियतामा चुनौती

बैंकिङ प्रणाली भनेकै ग्रहाकको विश्वसनियतामा चल्छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्नु भनेको उनीहरूको पैसा सुरक्षणको ग्यारेन्टी संस्थाले लिनु हो ।

सर्वसाधारणको बचत सुरक्षणको कारबाही गर्ने संस्था र उसका कर्मचारीबाटै रकमको दुरुपयोग भए पैसा राख्न बैंकमा कोही जाँदैनन् । यसले बैंक तथा वित्तीय संस्थाप्रतिको बचतकर्ताको विश्वास गुम्छ । अर्कोतिर संस्था आफै पनि सर्वसाधारणकै रकमबाट चल्ने भएकाले व्यवसायिक रूपमा अघि बढ्न सक्दैन ।

यसले अन्ततः वित्तीय संस्था हुँदै देशकै बैंकिङ प्रणालीमा समस्या ल्याउँछ । देशको अर्थतन्त्रको महत्वपूर्ण टेको बनेको वित्तीय क्षेत्र संकटमा गए आर्थिक वृद्धिदेखि अर्थतन्त्रका अन्य क्षेत्रमा समेत संकट ल्याउँछ ।

नियामकले पनि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्न आन्दोलन गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन नसकेको राष्ट्र बैंकका एक पूर्व गभर्नर बताउँछन् ।

‘समाज, नागरिक र आम रूपमा केही नपुगेजस्तो, नभए जस्तो त सबैको अघि देखिएकै छ,’ उनी भन्छन्,‘बैंक चल्ने भनेकै सर्वसाधारणको पैसाबाट हो । त्यसविरुद्ध ऋण मिनाहको माग गरेर भइरहेका अराजक गतिविधिमा कडाइका साथ नियामकले नियमन गर्न नसकेको देखियो ।’

निर्देशक नेपाल वित्तीय संस्थाबाटै हुने यस्ता घटनाले प्रणालीको विश्वसनियता पक्कै चुनौती ल्याउने बताउँछन् । ‘बैंक तथा वित्तीय संस्थाकै कर्मचारीबाट हुने रकम हिनामिनाका घटनाले प्रणालीप्रतिको विश्वासमा चुनौतीत पक्कै ल्याउँछ । तर, राष्ट्र बैंकले कडाइका साथ यस विषयमा प्रतिबद्ध छ,’ उनले भने ।

 

११० मेगावाटको नीलगिरि जलविद्युत आयोजना अन्तिम चरणमा Read Previous

११० मेगावाटको नीलगिरि जलविद्युत आयोजना अन्तिम चरणमा

नेप्सेमा थप २ कम्पनीको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा थप २ कम्पनीको बोनस सेयर सूचीकृत