काठमाडौं । नेपालमा नदी वारपार गर्ने सहज माध्यम झोलुङ्गे पुल नहुँदा वर्षेनी कयौं मानिसले ज्यान गुमाउने गरेका छन् । सरकारले नागरिकको सुविधालाई प्राथमिकतामा नराख्दा अझै पनि तुइनबाट जोखिमपूर्ण यात्रा गर्न विवश छन् ।
तत्कालीन खड्गप्रसाद ओली सरकारले ३ वर्ष अघि नै देश तुइनमुक्त भएको घोषणा गरे पनि अझै देशका विभिन्न ठाउँमा दर्जनौं तुइन रहेका छन् । नेपालमा ६ हजार बढी खोला, नदी छन् । पहाडी, हिमाली क्षेत्रमा वस्तीहरू छरिएर रहेकाले अझै हजारौंको संख्यामा पुल बनाउनुपर्ने आवश्यक रहेको छ ।
यसैबीच, सरकारले प्रत्येक १ घण्टाको दूरीमा झोलुङ्गे पुल निर्माण गर्ने घोषणा गरेको छ । गत शुक्रबार संघीय संसदमा राष्ट्रपति रमाचन्द्र पौडेलले पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।
यद्यपि, हरेक १ घण्टाको दूरीमा झोलुङ्गे पुल बनाउँदा कति पुल निर्माण गर्नुपर्छ भन्ने सरकारसँग तथ्यांक छैन । तर, देशभर अझै ६ हजार बढी झोलुङ्गे पुल निर्माण माग भएको छ ।
स्थानीय पूर्वाधार विभागका अनुसार हाल देशभरबाट ५ देखि ६ हजार झोलुङ्गे पुल निर्माण गर्नुपर्ने आवश्यक रहेको छ । ग्रामीण क्षेत्रका बस्तीका जनतालाई सहज नदी नदी वारपार गर्ने व्यवस्था मिलाउन उक्त संख्यामा पुल निर्माण आवश्यक रहेको विभागको भनाइ छ ।
हालसम्म देशभर ९ हजार २०० बढी झोलुङ्गे पुल निर्माण भइसकेका छन् । पछिल्लो समय झोलुङ्गे पुल नदी वारपारको माध्यम मात्र नभई पर्यटकीय दृष्टिले समेत आकर्षण बन्दै गएको छ । लामा र अग्गा झोलुङ्गे पुल पर्यटकको रोजाइमा पर्न थालेका छन् ।
झोलुङ्गे पुल बनाउन कति लाग्छ समय र खर्च ?
एउटा झोलुङ्गे पुल निर्माण गर्न न्यूनतम ६ महिना लाग्ने स्थानीय पूर्वाधार विभागका सिनियर डिभिजन इन्जिनीयर तथा सूचना अधिकारी राजकाजी श्रेष्ठ बताउँछन् । उनका अनुसार झोलुङ्गे पुल निर्माण गर्न मिटर १ लाख २५ हजार रुपैयाँ हाराहारी खर्च लाग्ने गर्छ ।
सामान्यतया ५० देखि २०० मिटर लम्बाइका झेलुंगे पुल निर्माण हुने गरेका छन् । यस अनुसार एउटा पुलको निर्माण खर्च ५० लाखदेखि २ करोडसम्म हुने गरेको उनको भनाइ छ । विशेष खालका लामा र अग्ला पुल निर्माण गर्दा भने लागत अझै बढी हुने उनको भनाइ छ ।हाल माग भएका ६ हजार पुल निर्माण गर्न झन्डै ५० अर्ब बढी खचए हुने सरकारी इन्जिनीयरहरू बताउँछन् ।
सरकारले १ घण्टाको दूरीमा झोलुङ्गे बनाउने घोषणा गरे पनि एकैपटक बजेट नपाउने हुँदा निर्माण हुन धेरै वर्ष लाग्ने श्रेष्ठ बताउँछन् । ‘सरकारले १ घण्टाको दूरीमा पुल बनाउने घोषणा त गरेको छ । तर, बजेट अभाव, ठेकेदारले गर्ने ढिलाइ लगायत कारणले समय लाग्ने देखिन्छ । सरकारले प्राथमिकतामा राख्ने र बजेट दिने हो भने असम्भव भने देखिँदैन,’ उनले चाणक्य पोष्टसँग भने ।
झोलुङ्गे पुल निर्माणका लागि मुख्य लठारो बाहेक अन्य सबै सामग्री नेपालमै उपलब्ध रहेको उनले बताए । लठ्ठा भने विदेश बाट ल्याउनुपर्ने उनले बताए । । १२० मिटरभन्दा लामो झोलुङ्गे पुल संघीय सरकारले र सोभन्दा कम दूरीका झोलुङ्गे पुल प्रदेश र स्थानीय तहले बनाउँदै आएका छन् । तीनवटै तहले पुल निर्माण गरेकाले धेरै संख्यामा पुल निर्माण भएको छ ।
नेपालमा झोलुङ्गे पुल राख्ने अभियान राणा प्रधानमत्री चन्द्रशमसेरले वि.सं.१९६० मा नै गरेका थिए । काठमाडौं उपत्यकामा मात्र नभई दुर्गम गाउँहरूमा पनि करिब १०० वर्षअघि नै झोलुङ्गे पुलको निर्माणको थालनी भएको थियो ।
विसं १९६४ मा हेन्डरसन कम्पनीले पहिलो नमुना पुलको रूपमा सुनकोशी नदीमा पुल बनाएको थियो । पछिल्लो समय ५० वर्ष अगाडिसम्म ५० वटा फलामे पुलहरूमा जोन एम हेन्डरसन एण्ड कम्पनी लिमिटेडको नाम राखिएको छ । चोभारको पुल, मस्र्याङदीको तार्कुघाटको पुल, धाडिङको आँखुखोलाको पुल आदिमा उक्त कम्पनीको नाम लेखिएको देखिन्छ ।
झोलुङ्गे पुलको लागि आवश्यक फलामे सामग्रीहरूको लागि भने स्कटल्याण्डको उत्तरी सहर एबरडीनसँग नाता गाँसिएको थियो । सुरूका दश वर्ष जति लुइस हार्पर कम्पनीले नेपालमा झोलुङ्गे पुलहरू बनाएक थियो । त्यसपछि जोनएम हेन्डरसन कम्पनीले झोलुङ्गे पुलहरू बनाएका थिए ।
आजभन्दा ९७ वर्ष पहिले श्री ३ चन्द्र शमसेरको पालामा वि.स. १९८५ मा रूकुमको चौरजहारी र जाजरकोटको मटेला जोड्ने भेरी नदीमा पहिलो झोलुङे पुल निर्माण भएको थियो ।