काठमाडौ । तामाकोसी पाँचाैँ जलविद्युत् आयोजना निर्माणका लागि स्रोत जुटेको छ । आयोजनामा कर्मचारी सञ्चय कोष एक्लैले १३ अर्ब ७४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको हाे ।
आइतबार ऋण लगानीका लागि तामाकोसी जलविद्युत् कम्पनी, नेपाल विद्युत् प्राधिकरण र कर्मचारी सञ्चय कोष बीच त्रिपक्षीय सम्झौता भएको छ।
सम्झौतापत्रमा तामाकोसी जलविद्युत् कम्पनी कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारी, प्राधिकरणका प्रबन्ध निर्देशक तथा तामाकोसी जलविद्युत् कम्पनीका अध्यक्ष कुलमान घिसिङ र कोषका प्रशासक जितेन्द्र धितालले हस्ताक्षर गरेका छ्न्।
आयोजनामा कोष एक्लैले ६५ प्रतिशत ऋण लगानी गर्ने भएको हो । कुल २१ अर्ब १४ करोड अनुमानित लागत रहेको यस आयोजनामा कोषले १३ अर्ब ७४ करोड र ३५ प्रतिशत साधरण सेयर (आइपीओ) जारी गरी जुटाइने छ ।
तामाकोसी पाँचौँ ४५६ मेगावाटको क्षमताको माथिल्लो तामाकोसीको जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि निस्किएको पानीलाई उपयोग गरी निर्माण हुन लागेको क्यास्केड आयोजना हो । त्यसैले तामाकोसी पाँचौँले बाँध, बालुवा थिग्र्याउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु नपर्ने भएकाले आयोजनालाई आकर्षक मानिएको छ ।
माथिल्लो तामाकोसीको विद्युत्गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने सिभिल संरचनाको निर्माण भइसकेको छ । हाइड्रोमेकानिकल काम बाँकी छ । आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युत्गृह, करिब दुई किलोमिटर २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नुपर्नेछ ।
आयोजना निर्माणका लागि निर्माण व्यवसायी छनोटका लागि टेन्डर प्रक्रियामा छ । विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भइसकेका छन् । आयोजना निर्माणमा आवश्यकपर्ने करिब १३३ रोपनी निजी जग्गा अधिग्रहण गरिसकिएको छ । आयोजनाबाट वार्षिकरुपमा ४९ करोड ५१ लाख युनिट विद्युत् उत्पादन हुनेछ ।
माथिल्लो तामाकोसीमा रोलवालिङ खोला मिसाएपछि आयोजनाबाट उत्पादन हुने विद्युत् वृद्धि भई ५४ करोड ३५ लाख युनिट पुग्नेछ । आयोजनाबाट उत्पादित विद्युत् खरिद बिक्रीका लागि प्राधिकरण र कम्पनीबीच सम्झौता भइसकेको छ ।