लुम्बिनी केबलकारको परीक्षण सुरू, अर्को सातादेखि नियमित संचालन

काठमाडौं । बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केबलकार’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।

बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केबलकार निर्माण सम्पन्न भइ हाल प्राविधिक परीक्षण सुरू गरिएको छ ।

यही जेठको १५ गतेदेखि नियमित सञ्चालन गर्ने लक्ष्यका साथ तयारी भइरहेको कम्पनीका आयोजना व्यवस्थापक गोकुल साउदले जानकारी दिए । उनका अनुसार वसन्तपुरमा निर्माण गरिएको कामाख्या  देवी मन्दिरमा जेठ १२ गतेदेखि १८ सम्म महायज्ञ सञ्चालन गरिने भएको छ ।

केबलकारको आधार स्टेसन बुटवलको वडा नं. ३ बमघाटमा र माथिल्लो स्टेसन वसन्तपुरमा रहनेछ । केबलकारको लम्बाइ २.६ किलोमिटरको हुनेछ ।

केबलकारमा २५ वटा गोण्डुला रहनेछन् भने एउटा गोण्डुलामा एकैपटक आठ जनाले यात्रा गर्न सक्नेछन् । साथै प्रतिघण्टा अधिकतम छ सय यात्रुलाई सेवा दिन सकिनेछ भने केबलकार पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक ५ हजार यात्रु आवतजावत गर्न सक्ने कम्पनीको भनाइ छ ।

व्यवस्थापक साउदका अनुसार यस आयोजनामा करिब रु ५ अर्ब लगानी भएको छ । जसमा केबलकार, क्यासिनोसहितको १५० कोठाको ५ तारे होटल, कामाख्या देवीको मन्दिर, रेष्टुराँ तथा बार र पार्क निर्माण गरिनेछ ।

वसन्तपुरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी भारतीय पर्यटक भित्र्याउने लक्ष्यसहित केबलकार निर्माण गरिएको हो । केबलकार सञ्चालनमा आएसँगै यस आसपासका क्षेत्रमा पर्यटन विकाससँगै आर्थिक गतिविधि चलायमान हुने उनको भनाइ छ । केबलकारको शिलन्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते गरेका थिए ।

नेप्सेमा लगातार चौथो दिन वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

नेप्सेमा लगातार चौथो दिन वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

नीति तथा कार्यक्रममाथि सत्तारुढ दलकै सांसदको संशोधन प्रस्ताव Read Next

नीति तथा कार्यक्रममाथि सत्तारुढ दलकै सांसदको संशोधन प्रस्ताव