काठमाडौं । सेयर बजारमा लगातार वृद्धि भएको छ । गत मंगलबारदेखि उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । गत साता औसतमा दैनिक १ अर्बभन्दा कमको कारोबार हुँदै आएकोमा आज १ अर्ब ६० करोडको सेयर किनबेच भएको छ ।
आइतबार नेप्से परिसूचक ५.८८ अंकले बढेर १८८३.२० विन्दुमा पुगेको छ । यसदिन २७३ कम्पनीको ४८ लाख २८ हजार ७७६ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ को परिसूचकमा हरियाली छाएको छ भने ४ को घटेको छ । होटल उपसमूहको परिसूचक सबैभन्दा धेरै २.६४ प्रतिशतले बढेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनी ५ करोड र तारागाउँ रिजेन्सी होटलको ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
बढ्दो बजारमा दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त र राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको छ ।