काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको खराब कर्जा ह्वात्तै बढेको छ । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मा लघुवित्तको खराब कर्जा दोब्बरभन्दा धेरैले बढेको हो ।
लघुवित्त वित्तीय संस्थाहरूले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तहरूको औसत खराब कर्जा औसतमा ७ प्रतिशत पुगेको छ । गत वर्ष सोही अवधिमा लघुवित्तहरूको खराब कर्जा ३.०९ प्रतिशत मात्र थियो । एक वर्षको अवधिमा लघुवित्तहरूको खराब कर्जा औसतमा ३.९१ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा ३ दर्जन लघुवित्तको खराब कर्जा राष्ट्र बैंकले तोकको सीमा माथि अर्थात् ५ प्रतिशत बढी रहेको छ । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका ५५ लघुवित्तमध्ये ३५ लघुवित्तको खराब कर्जा ५ प्रतिशत बढी छ ।
लगानी भएको कर्जा असुल हुन नसकेपछि लघुवित्तको खराब कर्जा ह्वात्तै बढेको हो । पछिल्लो समय अर्थतन्त्रमा आएको संकुचनका कारण ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आउनु, ब्याजदर वृद्धि, लघुवित्त संस्थाविरुद्ध भएको अराजक गतिविधि लगायत कारणले लघुवित्तहरूको ऋण असुली प्रभावित हुँदा खराब कर्जा ह्वात्तै बढेको हो ।
कम्पनीहरूको खराब कर्जा बढी हुनु भनेको वित्तीय स्वस्थ्य बिग्रिनु हो । नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा ५ प्रतिशत नाघेपछि संस्थाको वित्तीय अवस्था बिग्रिएको मानिन्छ ।
बैंकिङ प्रणालीमा भएको तरलता अभाव र ब्याजदर वृद्धिको प्रभाव लघुवित्तहरूको व्यवसायमा पर्दा नाफा पनि प्रभावित भएको छ । समीक्षा अवधिमा लघुवित्तहरूको खुद नाफा ५९ प्रतिशतले घटेको छ । 
(नेप्से)मा सूचीकृत (५९) मध्ये ५५ वटा लघुवित्तले चालु आवको चैत मसान्तसम्म कुल ३ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ५ अर्ब ५५ करोड रुपैयाँ कम हो । गत वर्ष चैतसम्म यी लघुवित्तहरूले कुल ९ अर्ब ३६ करोड खुद नाफा कमाएका थिए ।
गत वर्ष चैतसम्म एउटा लघुवित्तले औसतमा १७ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालु आवमा ६ करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ । विवरण सार्वजनिक गरेका ५५ लघुवित्त मध्ये समीक्षा अवधिमा ४ लघुवित्तको मात्रा नाफा बढेको छ भने ५१ वटाको घटेको छ । जसमा ११ वटा घाटामा रहेका छन् ।
वित्तीय संस्थाहरूले लगानी गरेको रकम खराब कर्जामा परिणत भएपछि सो रकम बराबर प्रोभिजनिङ गर्नुपर्छ । खराब कर्जा बढ्दा वित्तीय संस्थाको नाफा ठूलो असर पार्ने गर्छ ।
३५ लघुवित्तको खराब कर्जा सीमा माथि
समीक्षा अवधिमा ३५ लघुवित्तको खराब कर्जा सीमा माथि अर्थात् ५ प्रतिशतभन्दा धेरै रहेको छ । लघुवित्तहरूको औसत खराब कर्जा नै ७ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा १० लघुवित्तको खराब कर्जा १० प्रतिशतभन्दा माथि रहेको छ । जसमध्ये सबैभन्दा धेरै सामुदायिक लघुवित्तको १४.२१ प्रतिशत रहेको छ । यो राष्ट्र बैंकले तोकको सीमाभन्दा झन्डै तेब्बर धेरै हो ।
यस्तै, इन्फिनिटी लघुवित्तको खराब कर्जा १४.०४ प्रतिश, स्वाबलम्बन लघुवित्तको १२.९८ प्रतिशत, धौलागिरिको १२.४५ प्रतिशत, वीन नेपाल लघुवित्तको १२.१५ प्रतिशत, निर्धन उत्थानको १२.०९, मनकामना स्मार्टको ११.९५ प्रतिशत, समिट लघुवित्तको ११.१८ प्रतिश, आरम्भ चौतारीको १०.५८ प्रतिशत र युनिक नेपालको १०.२९ प्रतिशत रहेको छ ।

यसैगरी, चैतसम्म ८ लघुवित्तको खराब कर्जा ८ देखि १० प्रतिशतको बीचमा रहेको छ भने १७ लघुवित्तको ५ देखि ८ प्रतिशतको बीचमा छ ।
२० वटा लघुवित्तको मात्र खराब कर्जा सीमाभन्दा तल अर्थात् ५ प्रतिशतभन्दा कम छ । तीमध्ये पनि अधिकांशको ४ प्रतिशत माथि रहेको छ ।
समीक्षा अवधिमा होलसेल कारोबार गर्ने लघुवित्तहरूको खराब कर्जा तुलनात्मक रुपमा कम रहेको छ । यद्यपि, गत वर्षको तुलनामा यिनको पनि खराब कर्जा बढेको छ ।
तेस्रो त्रैमाससम्म फर्स्ट माइक्रोफाइनान्सको खराब कर्जा सबैभन्दा कम ०.४७ प्रतिशत रहेको छ । यसैगरी, आरएमडीसी लघुवित्तको ०.७४ प्रतिशत, छिमेक लघुवित्तको १.१९ प्रतिशत, आरएसडीसीको १.३७ प्रतिशत र साना किसानको १.४२ प्रतिशत रहेको छ ।