काठमाडौं । बैंकिङ प्रणालीमा पैसा थुप्रिन थालेको छ । अर्थतन्त्रमा आएको संकुचन र महँगो ब्याजदरका कारण कर्जाको माग बढ्न नसकेपछि पैसा बैंकमै थुप्रिन थालेकाे हो ।
बैंकहरूले जेठदेखि कर्जाको ब्याजदर घटाए पनि खासै माग बढ्न नसकेको बैंकरहरू बताउँछन् । अहिले बैंकिङ प्रणालीमा करिब साढे २ खर्ब लगानीयोग्य रकम रहेको उनीहरूको भनाइ छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि बैंकिङ प्रणालीमा तरलता निकै सहज अवस्थामा रहेको देखाउँछ । राष्ट्र बैंकका अनुसार समग्र वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात ८४.९२ प्रतिशतमा आइपुगेको छ । यो राष्ट्र बैंकले तोकेको सीमाभन्दा ५ प्रतिशत तल हो । राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात ९० प्रतिशतको सीमा तोकेको छ ।
पछिल्लाे समय बैंकहरूले निक्षेप संकलन गरे पनि माग नहुँदा कर्जा विस्तार गर्न सकेका छैनन् । अहिले बैंकहरूले नयाँ कर्जा लगानीभन्दा भन्दा पनि पुरानो कर्जा असुलीमा केन्द्रित रहेका छन् ।
राष्ट्र बैंकका अनुसार हाल नेपालको बैंकिङ प्रणालीमा समग्र बैंक तथा वित्तीय संस्थामा ५४ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । जसमा वाणिज्य बैंकहरूसँग मात्रै ४८ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थासँग ६ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप रहेको छ ।
यस्तै, समग्रमा बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरूले मात्रै ४२ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । अन्य बैंक तथा वित्तीय संस्थाहरूले ५ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांक्ले जनाएको छ ।