लघुवित्तको नाफा ५९ प्रतिशतले घट्यो, १ दर्जन घाटामा, कुनको कति ?

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको खुद नाफामा उच्च गिरावट आएको छ । हालसम्म चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका ५५ वटा लघुवित्तहरूको खुद नाफा अ‍ैसतमा ५९.२९ प्रतिशतले घटेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत (५९) मध्ये ५५ वटा लघुवित्तले चालु आवको चैत मसान्तसम्म कुल ३ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ५ अर्ब ५५ करोड रुपैयाँ कम हो । गत वर्ष चैतसम्म यी लघुवित्तहरूले कुल ९ अर्ब ३६ करोड खुद नाफा कमाएका थिए ।

गत वर्ष चैतसम्म एउटा लघुवित्तले औसतमा १७ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालु आवमा ६ करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ । विवरण सार्वजनिक गरेका ५५ लघुवित्त मध्ये समीक्षा अवधिमा ४ लघुवित्तको मात्रा नाफा बढेको छ भने ५१ वटाको घटेको छ । जसमा ११ वटा घाटामा रहेका छन् ।

समीक्षा अवधिमा लघुवित्तहरूको खुद ब्याज आम्दानी र संचालन नाफा घट्दा नाफामा भारी गिरावट आएको हो । त्यस्तै, ऋणीले समयमै ऋण नतिर्दा उल्लेख्य मात्रमा खराब कर्जा बढ्दा ठूलो रकम प्रोभिजन गर्नु परेकाले नाफमा असर परेको हो ।

साथै, बैंकिङ प्रणालीमा भएको तरलता अभाव र ब्याजदर वृद्धिका कारण समेत नाफा प्रभावित भएको हो । लघुवित्तहरूले बैंकसँग ऋण लिएर कर्जा लगानी गर्छन् । आफैंले महँगो ब्इाजमा ऋण लिएर १५ प्रतिशत ब्याजदरमा कर्जा गर्नुपर्दा लघुवित्तहरूको व्यवसायमा ठूलो धक्का लागेको छ । जसकारण नाफा समेत प्रभावित भएको हो ।

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई कर्जाको ब्याजदरमा १५ प्र्रतिशतको क्याप लगाएको छ । जबकी वाणिज्य बैंकले निक्षेपमै त्योभन्दा बढी ब्याज दिइरहेका छन् । बैंकबाट महंगो ब्याजदरमा ऋण लिएर सस्तो ब्याजमा लगानी गर्नुपरेपछि लघुवित्तहरूले नाफा आर्जन गर्न सकेका छैनन् ।

लघुवित्त कर्मीहरू अहिलेको अर्थतन्त्र संकट र महंगोमा ब्याज लिएर सस्तोमा लगानी गर्नु परेको तथा कर्जा रिकर्भर नहुँदा संस्थाहरूको नाफामा गिरावट आएको बताउँछन् ।

एक दर्जन बढी लघुवित्त घाटामा

समीक्षा अवधिमा १ दर्जन लघुवित्त घाटामा रहेका छन् । गत वर्ष चैतसम्म सबै लघुवित्त कम्पनीहरू नाफामा रहेकोमा चालु आवको सोही अवधिमा ११ वटा नोक्सानीमा रहेका हुन् ।

समीक्षा अवधिमा लक्ष्मी, युनिक नेपाल, सामुदायिक, जाल्पा, मानुषी, वीन नेपाल, अभियान, आरम्भ चौतारी, गुराँस, मनकामना स्मार्ट र धौलागिरि लघुवित्त नोक्सानीमा रहेका छन् ।

समीक्षा अवधिमा लक्ष्मी लघुवित्तको सबैभन्दा धेरै ९ करोड रुपैयाँ घाटामा छ । त्यसैगरी, युनिक नेपाल लघुवित्त ६ करोड, सामुदायिक लघुवित्त ३ करोड ९४ लाख, जाल्पा सामुदायिक ३ करोड ९२ लाख, मानुषी ३ करोड ४७ लाख, वीन नेपाल २ करोड ४१ लाख, अभियान १ करोड २१ लाख नोक्सानीमा छ । यस अवधिसम्म आरम्भ चौतारी, गुँरास, मनकामना समार्ट र धौलागिरि लघुवित्त १ करोडभन्दा कम नोक्सानीमा रहेका छन् ।

४ लघुवित्तको मात्र नाफा बढ्यो

समीक्षा अवधिमा ५५ लघुवित्त मध्ये ४ लघुवित्तको मात्र नाफा बढेको छ भने ५१ वटाको घटेको छ । चैतसम्म छिमेक लघुवित्तको नाफा सबैभन्दा धेरै २२.८१ प्रतिशत बढेको छ । छिमेक सबैभन्दा बढी नाफा कमाउने लघुवित्त समेत बनेको छ । यस अवधिमा छिमेकले ८८ करोड रुपैयाँ खुद नाफा कमाएकेछ ।

यस्तै, समीक्षा अवधिमा फस्र्ट माइक्रोफाइनान्सले १७.१२, साना किसान लघुवित्त १६.९३ र आरएमडीसी लघुवित्तको खुद नाफा ३.२० प्रतिशतले बढेको छ ।

नोट : प्रस्तुत तथ्यांक लघुवित्त वित्तीय संस्थाहरूले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा आधारीत छ ।

 

भुटानसँग सवा १ खर्बको व्यापार घाटा Read Previous

भुटानसँग सवा १ खर्बको व्यापार घाटा

पूँजी बजारको संरचना सुधार गर्ने सरकारको घोषणा Read Next

पूँजी बजारको संरचना सुधार गर्ने सरकारको घोषणा