रासायिनक मल खरिद उच्च प्राथमिकतामा, बजेट दोब्बर बढाइयो

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ मा रासायिनक मल खरिद गर्न बजेट दोब्बरले बढाउन प्रस्ताव गरेको छ ।

मन्त्रालयले आगामी वर्ष मल खरिदका लागि ३० अर्ब रुपैयाँको बजेट सिलिङ तोकिएको छ । यो चालु आवकोभन्दा दोब्बर बढी हो । चालु आर्थिक वर्षमा मल खरिदका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो ।

बजेट अभावका कारण समयमै मल ल्याउन नसक्दा वर्षेनी खेती गर्ने समयमा अभाव हुने गरेको छ । त्यसैलाई मध्येनजर गर्दै मन्त्रालयले बजेट बढाएको हो ।

देशभर कुल ५ लाख २० हजार मेट्रिकटन रासायनिक मल आवश्यक पर्छ । चालु आर्थिक वर्ष २०७९/८० मा मल आयातका क्रममा १२ अर्ब ७५ करोड रुपैयाँ खर्च भइसकेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार संजेलले बताए ।

उनका अनुसार उक्त रकममा १ लाख २५ हजार टन मल आयात भइसकेको छ भने २ लाख ६ हजार मेट्रिकटन मल आयातको क्रममा रहेको छ । सरकारले चालु आवमा जीटुजी सहित ३ लाख ३१ हजार मेट्रिकटन मल आयात गर्ने लक्ष्य राखेको छ ।

आयात भएको १ लाख २५ हजार मेट्रिकटन मलमध्ये हालसम्म ९० हजार मेट्रिकटन मल विक्री वितरण भइसकेको प्रवक्ता संजेलले बताए । उनले नेपालको माग अनुसार मल ल्याउन ४४ अर्ब हाराहारी बजेट आवश्यक पर्ने बताए ।

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले ५२ अर्ब ६५ करोड रूपैयाँको बजेट सिलिङ पाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका बजेट शाखाका प्रमुख शिशिर पोलका अनुसार सिलिङका क्रममा रसायनिक मल खरिदलाई बढी प्राथमिकता दिइएको छ ।

रसायनिक मल खरिदका लागि बजेट सिलिङको ५९ प्रतिशत रकम छुट्याइएको उनले बताए । मल अभाव हुन नदिनलाई बजेट सुनिश्चित गरिएको उनले बताए । चालु आर्थिक वर्षमा ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

 

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Next

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी