माथिल्लो तामाकोसी २ अर्ब घाटामा, ६.१७ अर्बको बिजुली बेच्दा पनि किन गयो घाटामा ?

काठमाडौं । देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना २ अर्ब बढी नोक्सानीमा रहेको छ ।

कम्पनीले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नोक्सानी २ अर्ब २ करोड ३४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा कम्पनीको नोक्सानी १ करोड ६५ करोड रुपैयाँ थियो ।

विद्युत् विक्री आम्दानी बढे पनि कम्पनीको प्रशासनिक खर्च र वित्तीय लागत बढ्दा नोक्सानीमा गएको हो । बैंकिङ प्रणालीमा भएको ब्याजदर वृद्धिका कारण कम्पनीको वित्तीय दायित्व बढ्दा नोक्सानी बढ्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको वित्तीय लागत ३ अर्ब ५५ करोडबाट बढेर ५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको प्रशासनिक खर्च पनि ५३.२२ प्रतिशतले बढेर २८ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको विद्युत् विक्री आम्दानी १९.५७ प्रतिशतले बढे ६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । गत वर्ष चैतसम्म कम्पनीको यस्ता आम्दानी ५ अर्ब १६ करोड रुपैयाँ थियो । कम्पनीले २०७८ भदौ २५ गतेदेखि व्यवसायिक रुपमा आयोजना संचालनमा ल्याएको थियो ।

हाल १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ ५ अर्ब १८ करोड रुपैयाँ ऋणात्मक छ । हाल कम्पनीको दीर्घकालीन ऋण ७३ अर्ब ३३ करोड रुपैयाँ छ ।सोमध्ये नेपाल सरकार, नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको मात्रै ४६ अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।

२ अर्ब बढी नोक्सानीमा गएपछि कम्पनीको प्रतिसेयर आम्दानी १९.११ रुपैयाँ ऋणात्मक भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ ५१.०६ रुपैयाँमा झरेको छ ।

घट्यो सार्वजनिक यातायातको भाडादर, कहाँ जान कति लाग्छ (सूचीसहित) Read Previous

घट्यो सार्वजनिक यातायातको भाडादर, कहाँ जान कति लाग्छ (सूचीसहित)

प्रभु लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, बोनस र नगद दुवै घट्यो Read Next

प्रभु लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, बोनस र नगद दुवै घट्यो