काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत निर्जीवन बीमा कम्पनीहरूको खुद नाफामा सुधार आएको छ । निर्जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा औसतमा २१.६४ प्रतिशतले बढेको छ ।
चैत मसान्तसम्म सूचीकृत १४ कम्पनीहरूले (मर्ज भई एकीकृत कारोबार सुरू गरेकासहित) कुल ३ अर्ब ५३ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ६२ करोड ८६ लाख रूपैयाँ बढी हो । गत वर्ष चैतसम्म यी कम्पनीले कुल २ अर्ब ९० करोड ४७ रूपैयाँ खुद नाफा कमाएका थिए ।
समीक्षा अवधिमा बीमा कम्पनीहरूको खुद बीमा शुल्क, कुल आम्दानी, अन्य आम्दानी बढ्दा नाफामा वृद्धि भएको हो । यस्तै, नाफासँगै कम्पनीहरूको चुक्ता पूँजी, रिजर्भ कोष, बीमा कोष, प्रतिसेयर आम्दानी लगायत सूचकमा पनि सुधार आएको छ ।
समीक्षा अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा धेरै ६८ करोड नाफा कमाएको छ भने प्रुडेन्सियल इन्स्योरेन्सले सबैभन्दा कम १० करोड रूपैयाँ नाफा कमाएको छ ।
चैतसम्म एउटा निर्जीवन बीमा कम्पनीले औसतमा २५ करोड २३ लाख रुपैयाँ कमाएको छ । गत वर्ष सोही अवधिमा निर्जीवन बीमा कम्पनीको औसत नाफा २० करोड ७४ लाख रुपैयाँ थियो ।
११ कम्पनीको नाफा बढ्यो, ३ वटाको घट्यो
समीक्षा अवधिमा ११ वटा निर्जीवन बीमा कम्पनीको खरद नाफा बढेको छ भने ३ वटाको घटेको छ । यस अवधिमा दुई कम्पनीले खुद नाफा दोब्बरले बढाउन सफल भएका छन् ।
समीक्षा अवधिमा मर्जपछि बनेको सानिमा जीआइसी इन्स्योरेन्सको खुद नाफा सबैभन्दा धेरै १०३.०५ प्रतिशतले बढको छ त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले पनि १००.३१ प्रतिशतले बढाएको छ ।
यसअवधिमा प्रुडेन्सियल इन्स्योरेन्सको नाफा सबैभन्दा धेरै ११.६५ प्रतिशतले घटेको छ । त्यस्तै, शिखर इन्स्योरेन्सको ६.५२ प्रतिशत र नेको इन्स्योरेन्सको ०.२३ प्रतिशतले घटेको छ ।
राष्ट्रिय बीमा बन्यो धेरै कमाउने
समीक्षा अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी सबैभन्दा धेरै नाफा कमाउने निर्जीवन बीमा कम्पनी बनेको छ । गत वर्षको तुलनामा दोब्बरले नाफा बढाएको राष्ट्रिय बीमाले चैतसम्म ६८ करोड ६४ लाख नाफा कमाएको छ । यो दोस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सको भन्दा दोब्बर बढी हो ।
चैतसम्म विगतमा शिखर र नेको इन्स्योरेन्सले समान ३४/३४ करोड नाफा कमाएका छन् । त्यस्तै, मर्जरपछि बनेको सलिकोले २९ करोड नाफा कमाएको छ ।चैतसम्म प्रडेन्सियल इन्स्योरेन्स १० करोड नाफा बमाउँदै सबैभन्दा कम नाफा कमाउने निर्जीवन बीमा कम्पनी बनेको छ ।
मर्जरपछि बनेको कम्पनी प्रतिस्पर्धाको दौडमा
विगतमा लिडर बन्दै आएको शिखर इन्स्योरेन्सलाई मर्जरपछि बनेका कम्पनीहरूले व्यवसायमा टक्कर दिने देखिएको छ । चुक्ता पूँजीका आधारमा शिखरलाई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले उछिनेको छ । यस अवधिमा सिद्धार्थ प्रिमियरको चुक्ता पूँजी सबैभन्दा धेरै २ अर्ब ८० करोड पुगेको छ ।
यस अवधिमा सिद्धार्थ प्रिमियर, शिखर र सलिको इन्स्योरेन्सको मात्र तोकिएको चुक्ता पूँजी कायम भएको छ । यी कम्म्पनीको चुक्ता पूँजी बीमा प्राधिकरणले तोकेको साढे २ अर्ब माथि छ ।
यस्तै, जगेडा कोष, बीमा कोष र प्रतिसेयर आम्दानीमा भने सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी अघि रहेको छ । सबैभन्दा कम चुक्ता पूँजी रहेको राष्ट्रिय बीमा कम्पनीको जगेडा कोष सर्वाधिक ३ अर्ब ७२ करोड छ भने बीमा कोषमा ३ अर्ब १ करोड छ । यस्तै, प्रतिसेयर आम्दानी सर्वाधिक ३४३.२५ रुपैयाँ छ ।
खुद बीमा शुल्क संकलनमा भने नेको इन्स्योरेन्स अघि रहेको छ । समीक्षा अवधिमा नेकोले सर्वाधिक १ अर्ब ३१ करोड बीमाशुल्क संकलन गरेको छ ।
समीक्षा अवधिमा मर्जरपछि बनेका कम्प्नीहरूले पनि अधिकांश सूचकमा उल्लेख्य प्रगति गरेका छन् । मर्जरपछि प्राप्त सिनर्जीको बलमा ती कम्पनीहरूले आफूलाई प्रतिस्पर्धीको ?पमा उभ्याएका छन् ।