जीवन बीमा कम्पनीको नाफा ५१% बढ्यो, हिमालयनले नेपाल लाइफलाई उछिन्यो

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत जीवन बिमा कम्पनीहरूको खुद नाफामा उछाल आएको छ । हालसम्म चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका ८ बीमा कम्पनीहरूको खुद नाफा औसतमा ५०.७९ प्रतिशतले बढेको छ ।

चैत मसान्तसम्म सूचीकृत ८ कम्पनीहरूले (मर्ज भई एकीकृत कारोबार सुरु गरेकासहित) कुल २ अर्ब ६ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ६९ करोड ७९ लाख रुपैयाँ बढी हो । गत वर्ष चैतसम्म यी कम्पनीले कुल १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।

समीक्षा अवधिमा बीमा कम्पनीहरूको खुद बीमा शुल्क, कुल आम्दानी, अन्य आम्दानी बढ्दा नाफामा उछाल आएको हो । साथै, बैंकिङ प्रणालीमा भएको ब्याजदर वृद्धिले बीमा कम्पनीहरूको नाफा बढाएको हो । बीमा कम्पनीहरूले आफ्नो स्रोतको ठूलो हिस्सा रकम निक्षेपमा राख्ने गर्छन् । निक्षेपको ब्याजदर बढ्दा कम्पनीहरूको आम्दानी बढ्न गई खुद नाफामा उल्लेख्य सुधार आएको हो ।

समीक्षा अवधिमा अधिकांश कम्पनीको चुक्ता पूँजी, खुद नाफा, जीवन बिमा कोष, रिजर्भ कोष लगायत सूचकमा पनि सुधार आएको छ ।

समीक्षा अवधिमा तीन कम्पनी मर्ज भई बनेको हिमालयन सबैभन्दा धेरै ५० करोड नाफा कमाएको छ भने लाइफ इन्स्योरेन्सले सबैभन्दा कम ८ करोड ३ लाख नाफा कमाएको छ ।

अरु सबैको नाफा बढ्दा सूर्यज्योतिको मात्र घट्यो

समीक्षा अवधिमा हाल सूचीकृत ८ कम्पनीमध्ये ७ कम्पनीको नाफा बढेको छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्सको मात्र घटेको छ । यस अवधिमा सबैभन्दा धेरै नाफा नेपाल लाइफको बढेको छ । गत वर्ष चैतसम्म १९ करोड ४१ लाख घाटामा रहेको नेपाल लाइफले चालु वर्षमा ४४ करोड नाफा कमाएको छ । 

यस्तै, प्रतिशतका आधारमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको खुद नाफा सबैभन्दा धेरै १२९४.९२ प्रतिशतले बढेको छ ।

यसैगरी, साविको गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्स मर्ज भई वैशाख २६ गतेबाट एकीकृत कारोबार सुरु गरेको हिमालयन इन्स्योरेन्सको खुद नाफा ४३.७४ प्रतिशतले बढेको छ । तीनै कम्पनीले छुट्टाछुट्टै वित्तीय विवरण सार्वजनिक गरेका थिए । त्यसलाई एकीकृत गर्दा ४३.७४ प्रतिशतले बढेको हो ।

चैतसम्म सूर्यज्योति लाइफको नाफामा भने भारी गिरावट आएको छ । साविको सूर्य लाइफ र ज्योति लाइफ मर्ज भई बनेको सूर्यज्योतिको नाफा ५२.९१ प्रतिशतले घटेको छ । गत वर्ष ७५ करोड ७६ लाख नाफा कमाएको सूर्यज्योतिको नाफा घटेर २५ करोड ३१ लाखमा सीमित भएको छ ।

हिमालयनले नेपाल लाइफलाई उछिन्यो

समीक्षा अवधिमा हिमालयन इन्स्योरेन्सले सबैभन्दा धेरै नाफा कमाएको छ । हिमालयन (साविकको गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ)ले यस अवधिमा ५० करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । साविकका कम्पनीले छुट्टाछुट्टै वित्तीय विवरण सावर्जनिक गरेका थिए । जसमा प्राइमले २१ करोड, गुराँसले १६ करोड र युनियनले झन्डै १३ करोड नाफा कमाएका छन् । तीनै कम्पनीको नाफा जोड्दा ५० करोड पुगेको हो ।

हिमालयनले कमाएको नाफा नेपाल लाइफ इन्स्योरेन्सको भन्दा भन्दा साढे ५ करोड रुपैयाँ बढी हो । चैतसम्म नेपाल लाइफले ४४ करोड ६५ लाखरुपैयाँ खुद नाफा कमाएको छ । विगतमा सबैभन्दा धेरै नाफा कमाउने जीवन बीमा कम्पनी बन्दै आएको नेपाल लाइफलाई यसपाली मर्जपछि बनेको नयाँ हिमालयन लाइफले उछिनेको हो ।

यस्तै, समीक्षा अवधिमा नेशनल लाइफले तेस्रो धेरै २९ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । चैतसम्म सबैभन्दा कम लाइफ इन्स्योरेन्स कर्पोरेन्सले ८ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

 

जेठ ११ देखि एफपीओ विक्री गर्दै युनिक नेपाल लघुवित्त, प्रतिकित्ता भाउ कति ? Read Previous

जेठ ११ देखि एफपीओ विक्री गर्दै युनिक नेपाल लघुवित्त, प्रतिकित्ता भाउ कति ?

गौतमबुद्ध विमानस्थलको १ वर्ष : न नियमित उडान, न टीआइएको विकल्प बन्न सक्यो Read Next

गौतमबुद्ध विमानस्थलको १ वर्ष : न नियमित उडान, न टीआइएको विकल्प बन्न सक्यो