जेठ ११ देखि एफपीओ विक्री गर्दै युनिक नेपाल लघुवित्त, प्रतिकित्ता भाउ कति ?

FPO

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले जेठ ११ गतेदेखि एफपीओ (थप सेयर निष्काशन) विक्री गर्ने भएको छ ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले संस्थापक र साधरण सेयरको हिस्सा मिलाउन थप सेयर निष्काशन गर्न लागेको हो । साविकको युनिक नेपाल लघुवित्त र घोडाघोडी लघुवित्त मर्ज भई बनेको यस लघुवित्तमा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर ५.९९ हिस्सा छ ।

राष्ट्र बैंकको नियम अनुसार लघुवित्तमा कम्तीमा ३० प्रतिशत साधरण सेयर हिस्सा हुनुपर्छ । सोही सेयर हिस्सा मिलाउन लघुवित्तले एफपीओ निष्काशन गर्ने भएको हो । एफपीओपछि संस्थापकको ७० र सर्वसाधरणको हिस्सा ३० प्रतिशत कायम हुनेछ ।

लघुवित्तको एफपीओमा जेठ १६ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा जेठ २५ गतेसम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। एफपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले केयर एनपी बी प्लस इस्यूअर रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

हाल ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको एफपीओ निष्काशनपछि १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

अनलाइनबाटै घरको नक्सा पास सुरू, कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य Read Previous

अनलाइनबाटै घरको नक्सा पास सुरू, कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य

जीवन बीमा कम्पनीको नाफा ५१% बढ्यो, हिमालयनले नेपाल लाइफलाई उछिन्यो Read Next

जीवन बीमा कम्पनीको नाफा ५१% बढ्यो, हिमालयनले नेपाल लाइफलाई उछिन्यो