सिमेन्ट निर्यातमा देखिँदै ‘चाँदीको घेरा’, ४२ करोडको विदेशियो

काठमाडौं । नेपाली अर्थतन्त्रको प्रमुख समस्या मध्ये एक हो अचाक्ली व्यापार घाटा । नेपालमै वस्तु उत्पादन नहुँदा निर्यातको तुलनामा आयात अत्यधिक हुँदा वर्षेनी व्यापार घाटा चुलिँदो छ । चालु आवको चैतसम्म व्यापार घाटा १० खर्ब ८३ अर्ब पुगेको छ ।

नेपालबाट अहिले पनि जनशक्ति बाहेक अन्य वस्तु उल्लेख्य रुपमा निर्यात हुन सकेको छैन । पश्मिना, अलैँची, चिया, हस्तकला लगायत वस्तुको निर्यात हुँदै आए पनि त्यसको हिस्सा न्यून छ । यद्यपि, चालु आवदेखि भने १० अर्ब बढीको विद्युत् निर्यात हुन थालेको छ ।

त्यस्तै, सरकारले निर्यातलाई प्रोत्साहन गर्न चालु आवको बजेटमा सिमेन्ट, डण्डी, प्लाइवुड लगायत वस्तुमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेको थियो । जसले सिमेन्ट निर्यातमा भने कालो बादलमाथि चाँदीको घेरा देखाउन थालेको छ ।

नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेकाले अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने सम्भावना प्रचुर देखिएको छ । नेपाली सिमेन्ट उद्योगले क्षमता अनुसार उत्पादन गर्ने र सो उत्पादन अन्तर्राष्ट्रिय बजार पुर्याउने हो भने खर्ब बढीको निर्यात गर्न सक्ने सम्भावना रहको व्यवसायीहरू बताउँछन् ।

नेपालबाट गत असार २४ गतेदेखि पाल्पा सिमेन्टको तानसेन र असोज ३१ गतेदेखि अर्घाखाँची सिमेन्ट भारत निर्यात सुरु भएको थियो । चालु आवको ९ महिना (चैतसम्म) ४२ करोडको सिमेन्ट निर्यात भइसकेको भन्सार विभागको तथ्यांक छ ।

अहिले भारतीय बजारमा पनि नेपाली सिमेन्ट बजारीकरण हुन नसकेको र बजारीकरण गर्न सक्ने तत्कालै अर्बौंको सिमेन्ट निर्या गर्न सकिने नेपाल सिमेन्ट उत्पादक संघले जनाएको छ ।

संघका अध्यक्ष ध्रुवकुमार थापा भारतीय बजारमा नेपाली सिमेन्ट पुर्याउन अन्य कम्पनीहरूले गुणस्तरीय चिन्ह लिन खोजे पनि पछिल्लो समय केही सहज हुन नसकेका बताउँछन् ।

‘सरकारले निर्यात गर्नेलाई छुट दिने भन्यो तर, त्यसको कार्यन्वयनका लागि कहिले कहाँ कसरी कस्तो माध्यबाट त्यो सुविधा दिने भन्ने कुरा अझै खुलाएको छैन,’ थापाले चाणक्य पोष्टसँग थापाले भने ‘भारतमा सिमेन्ट पठाउन भारतबाटै गुणस्तरीय छाप लिनुपर्छ, त्यसमा पनि सहजीकरण गर्न सकेको छैन ।’

नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणित प्रमाणपत्र लिनुपर्नेछ । त्यसका लागि धेरै उद्योगहरू तयारीमा रहे पनि सहज वातारण सृजना हुन नसक्नुका कारण अन्य कम्पनीहरू निर्यात तर्फ लाग्न सकिरहेका छैनन् ।

सिमेन्ट उत्पादक सङ्घको तथ्याङ्क अनुसार नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन हाराहारी रहेको छ ।

४२ करोडको निर्यात

चालु आर्थिक वर्षको ९ महिनामा नेपालल ४२ करोड रुपैयाँ बराबरको सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार ९ महिनामा ४२ करोड ३१ लाख ८९ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको हो । सो मूल्यमा ४ लाख ६४ हजार टन सिमेन्ट निर्यात भएको हो ।

९ महिनामा दशबाट २३ करोड ७२ लाख ७३ हजार रुपैयाँ बराबरको क्लिङ्कर र १८ करोड ५९ लाख १६ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सो मूल्यमा २ लाख ७२ हजार ३२८ टन क्लिङ्कर र १ लाख ९२ हजार १ टन सिमेन्ट निर्यात भएको हो ।

नेपाली सिमेन्टहरू ठूलो मात्रामा भारत तर्फ निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । भारतीय बजारमा नेपाली सिमेन्ट पुर्याउन अन्य कम्पनीहरूले समेत गुणस्तरीय चिन्ह लिने क्रममा रहेको व्यवसायी बताउँछन् । । आगामी दिनमा जगदम्बा, सर्वोत्तम र सौर्यलगायत सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा रहेको बताइन्छ ।

२६ करोडको सिमेन्ट आयात

चालु आवमा ४२ करोडको सिमेन्ट भए पनि सोही अवधिमा २६ करोडको सिमेन्ट तथा सिमेन्टजन्य वस्तु आयात भएको छ । नेपाल सिमेन्टमा आत्मनिर्भर रहे पनि केही विशेष गुणस्तरका सिमेन्ट र विदेशी ठेकेदारले जिम्मा लिएका आयोजनाका लागि सो रकम बराबरको सिमेन्ट आयात भएको हो ।

चैतसम्म नेपालमा २६ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिङकर आयात भएको विभागको विभागको तथ्यांकले देखाएको छ । सो मूल्यमा ९६ लाख ८७ हजार १६८ केजी बढी सिमेन्ट आयात भएको हो ।

 

 

रोकिएन नेप्सेको ओरालो यात्रा, हाइड्रोपावरको सेयर मूल्यमा उच्च गिरावट Read Previous

रोकिएन नेप्सेको ओरालो यात्रा, हाइड्रोपावरको सेयर मूल्यमा उच्च गिरावट

विदेशमा ६ महिना काम गरेर फर्किएकाले मात्र २ वटा मोबाइल ल्याउन पाउने Read Next

विदेशमा ६ महिना काम गरेर फर्किएकाले मात्र २ वटा मोबाइल ल्याउन पाउने