काठमाडौं । सेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । गत साता ३१ अंकले घटेको नेप्से आज १६.९६ अंकले घटेको हो ।
पछिल्लो समय तरलता सहज र ब्याजदर घटे पनि नीतिगत सुधार नहुँदा लगानीकर्ताको मनोवल बढ्न सकेको छैन । जसकारण बजारले अझै गति नसकेको हो ।
आइतबार २६३ कम्पनीको ९० करोड बढीको २७ लाख ८८ हजार ८१५ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका लगानी बाहेक अरु सबै उपसमूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर उपसमूहको परिसूचक सबैभन्दा धेरै २.२१ प्रतिशतले घटेको छ ।
आज नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । यसको सवा ५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरी र एनआइसी एशिया बैंक समान साढे ४ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज राष्ट्र उत्थान लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ६.३७ प्रतिशत गुमाएका छन् । त्यसैगरी, दोर्दीखोला, हिमालयन ऊर्जा, श्वेतगंगा हाइड्रोपावर र कृषि विकास बैंकको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।