रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरू, भाडादर कति ?

काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि नियमित उडान सुरू भएको छ । नेपाल वायुसेवा निगमको ९ एन–एबीटी ट्वीनअटर जहाजले नियमित उडान थालेको हो । निगमले मङ्गलबार पनि उडान भर्ने तयारी गरेको छ ।

निगमको जहाजले दुई हप्ता अगाडि रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको थियो । आज बिहान ६ः३० बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाजले ७ः१५ बजे रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो । जहाजका क्याप्टेन मनेष विष्टका अनुसार अब प्रत्येक शुक्रबार नियमित उडान हुनेछ ।

‘परीक्षणका क्रममा विमानस्थलको अवस्था हेरेर बिहानी समयमा उडान गरेका हौँ,’ क्याप्टेन विष्टले भने, ‘हाललाई शुक्रबार मात्र उडान हुन्छ, पछि मङ्गलबार पनि उडान भर्ने हाम्रो तयारी छ ।’ रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले काठमाडौँमै गई लामो समय प्रयास गरी नेपाल एयरलाइन्सले नियमित उडान गरेको बताए ।

‘गुल्मेलीलाई हवाई सेवा दिन लामो प्रयास गरेका थियौँ,’ उनले भने, ‘नियमित उडानले गुल्मेलीको सपना साकार भएको छ ।’ उनका अनुसार निगम र नगरपालिकाबीच नियमित उडान गर्ने सम्झौता भएको थियो । निगमको जहाज पहिलो व्यावसायिक उडानमा १४ यात्रु बोकेर रेसुङ्गा विमानस्थलमा अवतरण भएको थियो । फर्किँदा पनि १४ यात्रु लिएर जहाज फर्किएको हो ।

पछिल्ला उडानमा जहाजको क्षमताअनुसार १८ यात्रु बोक्ने निगमको तयारी छ । प्रतियात्रु रु ६ हजार ३०० भाडादर कायम गरिएको छ ।

रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते र गत पुस २४ गते तारा एयरको जहाजले परीक्षण उडान गरेको थियो । पछि भाडादर महँगो भएपछि तारा एयरको जहाजको उडान स्थगित भएको हो । विमानस्थल १५६ रोपनी क्षेत्रफलमा फैलिएको छ । विमानस्थल कूल रु ३५ करोडको लागतमा निर्माण सम्पन्न भएको थियो ।

अर्थतन्त्रको बाहिरी 'भ्वाङ' टालेपछि आन्तरिक चलायमान बनाउन राष्ट्र बैंक उदार Read Previous

अर्थतन्त्रको बाहिरी 'भ्वाङ' टालेपछि आन्तरिक चलायमान बनाउन राष्ट्र बैंक उदार

त्रिभुवन विमानस्थलमा आएका जहाजले लगातार किन गरिरहेका छन् ‘ओभरसुट’ ? Read Next

त्रिभुवन विमानस्थलमा आएका जहाजले लगातार किन गरिरहेका छन् ‘ओभरसुट’ ?