काठमाडौं । वाणिज्य बैंकहरूले जेठमा निक्षेपको ब्याजदर नघटाउने भएका छन् । नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।
जेठमा पनि वैशाखकै ब्याजदर यथावत राख्ने सहमति भएको संघले जनाएको छ । हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ७.९९ प्रतिशत ब्याज दिँदै आएका छन् । त्यस्तै, बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतसम्म रहेको छ । अब जेठमा पनि सोही ब्याजदर कायम हुनेछ ।
वाणिज्य बैंकहरूले वैशाखमा भने चैतको तुलनामा निक्षेपको १० प्रतिशत ब्याजदर घटाएका थिए । चैतसम्म ११ प्रतिशत रहेको मुद्दति निक्षेपको ब्याजदर बैशाखमा १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ प्रतिशतमा झारेका थिए।
जेठमा निक्षेपको ब्याजदर नघटे पनि कर्जाको भने घट्ने भएको छ । नेपाल राष्ट्र बैंकले हालै बैंकहरूले कर्जाको ब्याजदर पनि महिनैपिच्छे परिवर्तन गर्न पाउने व्यवस्था गरेसँगै जेठमा कर्जाको ब्याजदर भने घट्ने भएको हो ।
राष्ट्र बैंकले पछिल्लो तीन महिनाको औसत बेररेटका आधारमा कर्जाको ब्याजदर घटाउन पाउने व्यवस्था गरेको छ । सो अनुसार बैंकहरूले गत माघदेखि दुईपटक घटाएको निक्षेपको ब्याजदर समायोजन हुँदा बेसरेट सस्तिएको छ । बेसरेट घटेकाले अब जेठदेखि कर्जाको ब्याजदर केही घट्ने देखिन्छ ।
यसअघि हरेक ३३ महिनामा मात्र कर्जाको ब्याजदर परिवर्तन गर्ने पाउने व्यवस्था हुँदा बैंकहरूले निक्षेपको ब्याजदर घट्ने बित्तिकै कर्जाको ब्याजदर घटाउने पाउँदैनथे ।
अहिले बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम भए पनि कर्जाको माग नहुँदा पैसा बैंकमै थुप्रेर बसेको छ । अहिले बैंकिङ प्रणालीमा २ खर्ब बढी तरलता रहेको बैंकरहरु बताउँछन् । अर्थतन्त्रमा आएको संकुचन र महँगो ब्याजदरका कारण कर्जाको माग बढ्न नसकेको व्यवसायीहरु बताउँछन् ।