काठमाडौं । मर्जर सम्झौता गरेका बीमा कम्पनीले धमाधम एकीकृत कारोबार सुरू गरिरहेका छन् । २०७८ चैतमा नेपाल बीमा प्राधिकरणले १ वर्ष भित्र बीमा कम्पनीहरूले चुक्ता पूँजी दोब्बरले वृद्धि गर्नुपर्ने व्यवस्था गरेसँगै बीमा कम्पनीहरू धमाधम मर्जरमा गएका हुन् ।
प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड रुपैयाँ पर्याउनुपर्ने व्यवस्था गरेको थियो । सो व्यवस्थापछि पछिल्लो एक वर्षमा २१ वटा बीमा कम्पनी मर्जर प्रक्रियामा सहभागी भएका छन् ।
बीमा प्राधिकरणका अनुसार एक वर्षमा जीवन र निर्जीवन गरी १५ बीमा कम्पनीले एकीकृत कारोबार गरिसकेका छन भने आधा दर्जन प्रक्रियामै छन् ।
यस अवधिमा जीवनतर्फ ७ कम्पनी मर्ज भई ३ वटा बनेर एकीकृत कारोबार सुरू गरिसकेका छन् । त्यस्तै, निर्जीवनतर्फ ८ कम्पनी मर्ज भई ४ कम्पनी बनेर एकीकृत कारोबार सुरू गरिसकेका छन् । अझै आधा दर्जन कम्पनी मर्जर प्रक्रियामै रहेका छन् ।
एक वर्षको अवधिमा मर्जर प्रक्रियामा गएका ७ कम्पनीको अस्तित्व मेटिएको छ भने थप दुई कम्पनीको मेटिने प्रक्रियामा रहेको छ ।
कुन-कुन कम्पनी मर्ज भए ?
हालसम्म जीवन बीमातर्फ ७ कम्पनी मर्ज भई एकीकृत कारोबार सुरू गरिसकेका छन् भने २ वटा प्रक्रियामै रहेका छन् । प्राइम लाइफ, गुँरास लाइफ र युनियन लाइफ मर्ज भई वैशाख २६ गतेदेखि हिमालयन लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरू गरेका छन् ।
त्यस्तै, सूर्य लाइफ र ज्योति लाइफ मर्ज पुसदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरू गरेका थिए । त्यसैगरी, रिलायन्स र सानिमा लाइफले पनि एकीकृत कारोबार गरिसकेका छन् ।
हाल प्रभु लाइफ र महालक्ष्मी लाइफ भने मर्जर प्रक्रियामा छन् । मर्जर प्रक्रिया सम्पन्न भइसकेपछि पाँच जीवन बीमा कम्पनीको अस्तित्व मेटिनेछ । एक वर्ष अघि १९ वटामा रहेको जीवन बीमा कम्पनीको संख्या मर्जर प्रक्रियापछि १४ वटामा झर्नेछ ।
त्यस्तै, एक वर्षको अवधिमा १० वटा निर्जीवन बीमा कम्पनी बीच मर्जर प्रक्रिया सम्पन्न भइसकेको छ भने दुई वटा मर्जर प्रक्रियामै रहेका छन् ।
हालसम्म निर्जीवन बीमातर्फं आइएमई जनरल र प्रुडेन्सियल मर्ज भई ‘आइजीआई प्रुडेन्सियल’, एभरेष्ट र हिमालयन मर्ज भई ‘हिमालयन एभरेष्ट’, सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्ज भई ‘सानिमा जीआइसी’, सगरमाथा र लुम्बिनी इनस्योरेन्स मर्ज भई ‘सलिको’ र प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स मर्ज भई ‘सिद्धार्थ प्रिमियर’को नामबाट एकीकृत कारोबार सुरू गरिसकेका छन् ।
यस्तै, हाल अजोड र युनाइटेड इन्स्योरेन्स मर्जर प्रक्रियामा रहेका छन् । यी कम्पनीहरूको मर्जर प्रक्रिया सम्पन्न भइसकेपछि २० वटा रहेको निर्जीवन बीमा कम्पनीको संख्या १४ वटामा झर्नेछ ।
प्राधिकरणले पूँजी वृद्धिको निर्णय गर्नुअघि नेपालमा १९ जीवन र २० निर्जीवन गरी ३९ वटा बीमा कम्पनी थिए । कम्पनीको संख्या घटाउन पूँजी बढाउने नीति लिएपछि उक्त संख्या घट्दै अब मर्जरमा गएका सबै कम्पनीको एकीकृत कारोबार पछि जीवन र निर्जीवन कम्पनीको संख्या २८ कायम हुनेछ ।
एक वर्षको यस अवधिमा २१ वटा बीमा कम्पनी मर्जर प्रक्रियामा सहभागी भएका छन् । मर्जर तथा प्राप्तिमा नगएका आधा दर्जन कम्पनीलाई पूँजी बढाउन सकस पर्ने देखिन्छ । ती कम्पनीलाई पूँजी अनुसारको व्यवसायिक सीमा तोक्ने प्राधिकरणको भनाइ छ ।
मर्जर सफल हुनु प्राधिकरणको नीतिगत सफलता हो : प्रवक्ता पौडेल
बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेल प्राधिकरणको दबाब विनै कम्पनीहरूले मर्जरका लागि देखाएको उत्साहलाई प्राधिकरणको नीतिगत सफलताको रुपमा लिनुपर्ने बताउँछन् ।
‘जीवन बीमा कम्पनी मर्जर गराउने भनेको गाह्रो काम हो । अहिले एकैदिन तीन बीमा कम्पनीले एकीकृत कारोबार गरिसकेका छन् । यसलाई प्राधिकरणको सफलताको रुपमा लिनुपर्छ’, उनले भने, ‘प्र्राधिकरणले पूँजी वृद्धिको निर्णय लिएपछि त्यसको माध्यमका रुपमा हकप्रदको विषय नउठेको होइन । कम्पनी र लगानीकर्ताले हकप्रद जारी गर्न दिनुपर्ने माग पनि राखेका थिए । तर, न्यून प्रतिफल दिइराखेको अवस्थामा किन लगानी गर्ने भन्ने पनि हुन्छ । त्यसकारण मर्जरमा जान हामीले लगानीकर्ता र सीईओहरूलाई बोलाएर छलफल गरेका थियौं ।’
प्राधिकरणले कम्पनीलाई पहिले मर्जरमा जान र त्यसपछि पनि पूँजी नपुगे २० देखि २५ प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न अनुमति दिने बताएपछि स्वतस्फूर्त रुपमा कम्पनीहरू मर्जरमा गएको उनले बताए ।
प्राधिकरणले कम्पनीहरूलाई चुक्ता पूँजी वृद्धि गर्न दिएको समय सीमा असार मसान्तसम्म थपेको छ । पौडेलका अनुसार कम्पनीहरूले चालु वर्षको वित्तीय विवरण असारमा अडिट गर्ने भएकाले नाफा पनि पूँजीमै गणना गरिनेछ । त्यसपछि पनि पूँजी कायम गर्न नसकेका कम्पनीलाई हकप्रद जारी गर्न अनुमति दिने सहज हुने भएकाले पूँज िवृद्धिको समय थपेको उनले बताए ।
बीमा प्राधिकरणले २०७८ चैत १० मा जीवन र निर्जीवन बीमा कम्पनीको पूँजी साढे दुई गुणाले वृद्धि गर्न निर्देशन दिएको थियो । जसअनुसार आगामी असारसम्म जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवनले साढे दुई अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने छ ।