काठमाडौं । मर्जरमा गएका जीवन बीमा कम्पनी प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स एकीकृत कारोबार सुरु गरेका छन् । मंगलबारदेखि तीन कम्पनीहरुले ‘हिमालयन लाइफ इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।
तीनै कम्पनी समान हैसियत अर्थात् १ः१ः१ सेयर अनुपातमा मर्ज भएका थिए । मर्जर पछि बनेको हिमालयन लाइफ इन्स्योरेसको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुगेको छ ।
चुक्ता पूँजीको आधारमा हिमालयन लाइफ नेपाल लाइफ पछिको दोस्रो ठूलो जीवन बीमा कम्पनी बनेको छ । यी कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल बीमा प्राधिकरणले वैशाख १३ गते र नेपाल धितोपत्र बोर्डले वैशाख १९ गते अन्तिम स्वीकृति दिएको थियो । यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले वैशाख २० गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो ।
प्राइम लाइफको चुक्ता पूँजी ३ अर्ब १४ करोड, गुराँस लाइफको २ अर्ब ५३ करोड र युनियन लाइफको २ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो ।