काठमाडौं । सेयर बजारमा कमब्याक भएको छ । यस साता सुरुका दुई दिनमै ३६ अंकले घटेको नेप्से आज दोहोरो अंकले बढेको हो ।
आज सूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५ करोडले घटेर ७७ करोड रुपैयाँमा सीमित भएको छ ।
मंगलबार २६९ कम्पनीको २८ लाख ३६ हजार १३९ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । होटल उपसमूहको परिसूचक सबैभन्दा धेरै १.९४ प्रतिशतले बढेको छ ।
आज हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट साढे ४ करोड र स्वाभिमान लघुवित्तको प्रमोटर सेयर साढे ३ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा पिपुल्स पावरको सेयर मूल्य सर्वाधिक ६.४७ प्रतिशतले बढेको छ । त्यस्तै, कालिञ्चोक दर्शन, युनिलिभर नेपाल, सिभिल लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ४ प्रतिशतले बढेको छ ।