बैंकमा पैसा हुँदा र ब्याजदर घट्दा पनि किन बढेन कर्जाको माग ?

काठमाडौं । बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम हुँदा र वैशाखदेखि कर्जाको ब्याजदर समेत केही घटे पनि कर्जा लगानी भने बढ्न सकेको छैन । अर्थतन्त्रमा देखिएको सिथिलताका कारण व्यवसायीमा मनोवल बढ्न नसक्दा कर्जाको माग बढ्न नसकेको हो ।

अहिले बैंकिङ प्रणालीमा २ खर्ब बढी लगानीयोग्य स्रोत रहेको बैंकरहरू बताउँछन् । त्यस्तै, माघ यता लगातार निक्षेपको ब्याजदर घटेकाले वैशाखदेखि कर्जाको ब्याजदर थोरै भए पनि घटेको छ । तर, आर्थिक मन्दीका कारण समग्र बजार नै सुस्त हुँदा औद्योगिक क्षेत्रमा नयाँ लगानी हुन नसक्दा कर्जाको माग ठप्पप्रायः रहेको छ ।

एकातिर बैंकमा पैसा थुप्रिए पनि कर्जा लगानी हुन नसक्दा बैंकको व्यवसायमै धक्का लागेको छ भने अर्कोतर्फ उत्पादन क्षेत्रमा नयाँ लगानी हुन नसक्दा समग्र अर्थतन्त्रमै प्रभाव परेको छ ।

आर्थिक वर्षको सुरूमा तरलता अभावले महंगो ब्याजका कारण संस्थाहरूले लगानी सकेनन् भने दोस्रो त्रैमासयता स्रोत भएर पनि माग नहुँदा ऋण लगानी गर्न सकेनन् ।नेपाल राष्ट्र बैंकको नीतिगत कडाइ, आन्तरिक तथा अन्तर्राष्ट्रिय कारणले सिर्जना गरेको समस्या, उत्पादन तथा बजारमा आएको संकुचनले कर्जाको माग बढ्न नसकेको जानकारहरू बताउँछन् ।

राष्ट्र बैंकका एक पूर्वगभर्नर ब्याजदर घटे पनि कर्जा माग नहुनुको मुख्य कारण नीतिगत कडाइ भएको बताउँछन् । ‘राष्ट्र बैंकले गत वर्ष बाह्य क्षेत्रको चाप कम गर्न जुन मौद्रिक उपकरण प्रयोग गरेको थियो । त्यसको असर अहिले देखिएको छ,’ उनले भने, ‘घरजग्गा र सेयर बजार जस्ता क्षेत्रको लगानीमा अंकुस लगाएपछि माग ठप्प भयो । यी क्षेत्र चलायमान नहुँदा अहिले समग्र अर्थतन्त्रमै समस्या देखियो । यो संरचनागत समस्या हो ।’

अर्को भनेको चालु पूँजी कर्जा नीति कार्यान्वयनमा ल्याउनु भएको उनले बताए । ‘बिजनेश लोनको नाममा केही पहुँचवालाले सर्वसाधारणको निक्षेप लिएर कहिल्यै फिर्ता नगर्नु पर्ने जुन विकृति थियो त्यो पनि केही रोकिएको देखिन्छ । यसले पनि लगानी नबढेको नभएको देखाएको हो,’ उनी भन्छन् ।

राष्ट्र बैंकले गत कात्तिकमा चालु पूँजी कर्जा मार्गदर्शन कार्यान्वयनमा ल्याएको थियो । जसको कारण चालु पूँजी कर्जाको शीर्षकमा ऋण लिएर अन्यत्रै लगानी गर्ने बैंकबाटै ऋण लिएर कर्जा नवीकरण गर्ने वित्तीय विकृति बढ्दो थियो । यसैगरी, राष्ट्र बैंकले घरजग्गा र सेयर कर्जामा गरेको कडाइका कारण यी क्षेत्रमा जाने ऋण पनि घटेको छ ।

आर्थिक मन्दीका कारण आम उपभोक्ताको क्रयशक्ति घट्दा अहिले बजारमा उपभोग्य वस्तुको माग घटेको छ । त्यस्तै, विकास निर्माणले गति लिन नसक्दा निर्माणजन्य उद्योगको उत्पादन न्यून छ । यस्तो अवस्थामा ऋण लिएर लगानी गर्दा प्रतिफल पाउन नसकिने र कर्जाको ब्याज समेत महँगो भएकाले कर्जाको माग नै नभएको उद्योगीहरू बताउँछन् ।

घट्दो ब्याजदर

दुई वर्षदेखि निरन्तर बढ्दो बैंकको ब्याजदर चालु आर्थिक वर्षको तेस्रो त्रैमासदेखि घट्दो क्रममा छ । बैंकिङ प्रणालीमा तरलता अभाव भएर उकालो लागेको ब्याज ऋणको माग नहुँदा घटेको छ ।

बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार २०७७ चैतमा ६.९१ प्रतिशत रहेको वाणिज्य बैंकको आधारदर २०७९ चैतमा आइपुग्दा १०.७८ बाट ०.३ प्रतिशतले घटेर १०.४८ प्रतिशतमा झरेको छ ।

ब्याजदर सस्तिए पनि कर्जाको माग भने बढेको छैन । अर्थतन्त्रमा देखिएको संकट, बजारमा माग र आपूर्ति प्रणालीमा देखिएको समस्या, उत्पादनमा गिरावट, लगानीका क्षेत्र उत्पादन नहुनु जस्ता कारणले कर्जाको माग नभएको वित्तीय क्षेत्रका जानकारहरू बताउँछन् ।

चालु वर्षको दोस्रो त्रैमाससम्म १८ प्रतिशत पुगेको कर्जाको ब्याजदर अहिले १५ प्रतिशत छ । बैंकहरूले पछिल्लो तीन महिनामा ब्याजदर घटाएका थिए । अहिले निक्षेपको ब्याजदर एकल अंकमा छ ।

वाणिज्य बैंकले वैशाखको लागि मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत तोकेका छन् । यसैगरी संस्थागत मुद्दतीतर्फ ७.९९ प्रतिशत ब्याज दिइरहेका छन् ।

बैंकले अहिले आधारदरमा लिँदै आएको प्रिमियम १ प्रतिशतले घटाएर ५ प्रतिशतको राखेका छन् । आधारदर घट्दै गइरहेकाले बैंकको लागत घट्न गई आगामी दिनमा पनि कर्जाको ब्याजदर अझै घट्ने देखिन्छ । तर, कर्जा लगानी भने तत्काल बढ्ने सम्भावना नरहेको यस क्षेत्रका जानकारहरूको विश्लेषण छ ।

राष्ट्र बैंकका अनुसार अहिले वाणिज्य बैंकको औषतमा कर्जाको ब्याजदर ८.३७ प्रतिशत छ भने निक्षेपको ब्याजदर १३.०३ प्रतिशत छ । अन्तर बैंकदर ७ प्रतिशर र पोलिसीदर पनि ८ प्रतिशतकै हाराहरीमा छ । आगामी असारदेखि राष्ट्र बैंकको अरु नीतिका कारण पनि सस्तीने देखिन्छ ।

बढेन कर्जा लगानी

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख)सम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल कर्जा लगानी १ खर्ब ३५ अर्ब रुपैयाँ गरेका छन् ।जबकि अघिल्लो आर्थिक वर्षमा १९ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य लिएकोमा ६ महिनामै लक्ष्यको ६० प्र्रतिशत विस्तार गरिसकेका थिए ।

यस वर्षको मौद्रिक नीतिले १२.६ प्रतिशतले निजी क्षेत्रतर्फ कर्जा विस्तार गर्ने लक्ष्य लिएको छ । कर्जा विस्तारको सो लक्ष्य भेट्टाउन बैंकिङ प्रणालीमा लगानीका लागि ५ खर्ब ९३ अर्ब रुपैयाँ स्रोत लगानीको आवश्यकता पर्छ । तर, संस्थाहरूले आर्थिक वर्षको अन्तिम त्रैमासको पहिलो महिनासम्म एकतिहाई पनि लगानी गर्नसकेका छैनन् ।

यसअवधिसम्म संस्थाहरूको कर्जा लगानी ४८ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । लगानी वृद्धि नहुँदा एकातिर वित्तीय प्रणालीमा समस्या देखिएको छ भने अर्कोतिर आर्थिक वृद्धिदेखि संस्थाको वित्तीय अवस्था नै खराब भएको छ ।

औषतमा अहिले बैंकको सीडी रेसियो ८५.२५ प्रतिशत छ । प्रणालीमा साढे दुई खर्ब बढी पूँजी हुँदा पनि माग ऋणको माग नहुँदा संस्थामै बसेको छ । पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरूको खराब कर्जा दोब्बरले बढेको छ भने व्यवसाय विस्तार नहुँदा नाफामा पनि संकुचन आएको छ ।

अब कर्जाको ब्याजदर पनि महिनैपिच्छे घट/बढ हुने Read Previous

अब कर्जाको ब्याजदर पनि महिनैपिच्छे घट/बढ हुने

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन Read Next

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन