काठमाडौं । साढे पाँच महिना पछि खुलेको एनएमबी बैंकको सेयर कारोबारमा लगानीकर्ताहरु किन्नको लागि ओइरिएका छन् । पहिलो घण्टामा एनएमबी बैंकको झण्डै ९४ हजार कित्ताको माग रहेको छ भने ३८ हजार कित्ता सेयर मात्र बिक्रीमा आएको छ ।
तर, माग बढेपनि कम्पनीको सेयर मूल्य भने कारोबार खुलेको केही समयमै १७ रुपैयाँ सम्मले घटेको छ भने पहिलो एक घण्टामा २.३७ प्रतिशत, अर्थात ८.३२ अंकले घटेको छ ।
ओम डेभलपमेन्ट बैंकसँगको मर्जर प्रक्रियाको लागि गत जेठ ५ गते बैंकको सेयर कारोबार बन्द गरिएको थियो ।बुधबार नेप्सेमा ओमको १ करोड ९१ लाख १५ हजार ७९० कित्ता सेयर स्वाप रेसियो अनुसारको समायोजन गरि एनएमबी बैंकको नाममा सूचीकरण भएसँगै बिहीबारदेखि नेप्सेमा सेयर कारोबार खुला भएको हो।

एनएमबी र ओम १०० बराबर ७६ अनुपात स्वाप रेसियोमा मर्ज गरेका हुन्। जसअनुसार ओमको १०० कित्ता शेयर हुने लगानीकर्ताले एनएमबिको ७६ कित्ता सेयर पाएका छन् ।
एकीकृत बैंकको चुक्ता पूँजी चुक्ता पूँजी ११ अर्ब ५२ करोड ९७ लाख रुपैयाँ पुगेको छ। बैंकमा नेदरल्याण्ड्सको एफएमओको २० प्रतिशत स्वामित्व रहेको छ।
मर्जरपश्चात एनएमबी बैंकको कूल शाखा संख्या १६३, एटिएम १२८ र एक्स्टेन्सन काउण्टर ५ वटा पुगेको छ।