काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । गतसाता २० अंकले घटेको नेप्से आज १९ अंकले घटेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ६ महिना यताकै कम ६० करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
आइतबार सेयर बजार मापक सूचक नेप्से १९.१२ अंकले घटेर १८५०.६१ बिन्दुमा आइपुगेको छ । यसदिन २६३ कम्पनीको २० लाख १५ हजार ९५९ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै २.०४ प्रतिशतले घटेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको सवा ३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, मकर जितुमाया हाइड्रोपावर झन्डै २ करोड र नबिल बैंक डेढ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा मकर जितुमाया हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ८.३१ प्रतिशत गुमाएका छन् ।