नेपालीले संचालन गरेको कम्पनीले पायो अमेरिकी अवार्ड, वाइडेनले गरे सम्मान

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकामा नेपाली युवाले सञ्चालन गरिरहेको कम्पनी साइनसिक्सलाई अवार्ड प्रदान गरेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा यही मे १ मा आयोजित समारोहमा नेपाली मूलका डा. राज के भण्डारी र श्रद्धा पौडेलले संयुक्तरुपमा सञ्चालनमा ल्याएको साइनसिक्स कम्पनीलाई राष्ट्रपति वाइडेनले सम्मान गरेका हुन् ।

साइनसिक्सलाई अमेरिकाको ‘स्मल विजनेश एड्मिनिस्ट्रेशन’ले ‘एक्सपोर्टर अफ दि इयर २०२३’ अवार्डबाट सम्मानित गरेको थियो । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा राष्ट्रपति वाइडेनले सो अवार्ड प्रदान गरेका थिए ।

सन् १९८५ मा स्थापना भएको उक्त कम्पनीको स्वामित्व भण्डारी र पौडेल समूहले सन् २०२१ मा ग्रहण गरेको थियो । हाल उक्त कम्पनीमा २६ जना कर्मचारी कार्यरत छन् । यो अवार्ड नेपाली मूलका अमेरिकीलाई पहिलो पटक प्रदान गरिएको हो ।

अमेरिकामा साना तथा मझौला उद्योग तथा व्यवसायका रुपमा सञ्चालनमा आएका करिब ३ करोड ३१ लाख ८५ हजार कम्पनी रहेको तथ्याङ्क छ । यस्ता साना व्यवसायीले ६ करोड १७ लाख जनालाई रोजगारी दिएका छन् । कम्पनीको पूँजी र रोजगारीका आधारमा साना तथा मझौला उद्योगका रुपमा वर्गीकरण गर्ने गरिन्छ ।

अमेरिकाको मिनासोटा राज्यमा कारखाना र साउथ क्यारोलिनामा रहेको प्रशासनिक भवनबाट सञ्चालित हुँदै आएको उक्त कम्पनीको अध्यक्ष डा भण्डारी छन् भने श्रद्धाले ‘एडभाइजर टु दि प्रेसिन्डेन्ट’ र ‘मेन्टर’ को जिम्मेवारी सम्हालेका छन् । साउथ डकोटा स्टेट् युनिभर्सिटीबाट विद्यावारिधि गरेका भण्डारीले हार्डवर्ड स्कूल अफ पब्लिक हेल्थमा अनुसन्धान सहयोगीका रुपमा एक वर्ष कामसमेत गरेका थिए ।

यो कम्पनीले औषधिको गुणस्तरमा परिमाणको मात्रा जाँच्नका लागि आवश्यकपर्ने उपकरणको मर्मतसम्भार गर्ने पार्टपुर्जा उत्पादन गर्ने गर्दछ । उक्त कम्पनीले ती पार्टपुर्जा अमेरिका र विश्वका १०० देशमा निर्यात गर्दै आएको छ ।

उत्पादन लागत महँगो हुँदा विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न गाह्रो, ब्याजदर कम गर्न माग  Read Previous

उत्पादन लागत महँगो हुँदा विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न गाह्रो, ब्याजदर कम गर्न माग 

रोकिएन सेयर बजारको ओरालो यात्रा, ६ महिना यताकै कम कारोबार Read Next

रोकिएन सेयर बजारको ओरालो यात्रा, ६ महिना यताकै कम कारोबार