काठमाडौं । घरजग्गा व्यवसाय (आवसीय कर्जा र रियल इस्टेट)मा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ह्वात्तै घटेको छ । बैंकिङ प्रणालीमा भएको तरलता अभाव, कर्जा लगानीमा नेपाल राष्ट्र बैंकको कडाइ, अर्थतन्त्रमा आएको मन्दी लगायत कारणले घरजग्गामा बैंकहरूको लगानीमा भारी गिरावट आएको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा घरजग्गमा बैंहरूको लगानी झन्डै ७९ प्रतिशतले घटेको छ । चालु आवको ८ महिना (साउन–फागुन)सम्म बैंकहरूले घरजग्गामा १४ अर्ब ५८ करोड रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ७८.५५ प्रतिशत कम हो । गत वर्ष फागुनसम्म बैंकहरूले ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।
समीक्षा अवधिमा आवसीय घरकर्जा (डेढ करोडभन्दा कम कर्जा) र रियल इस्टेट दुवै क्षेत्रमा कर्जा लगानीमा गिरावट आएको छ । चालु आवको फागुनसम्म बैंक तथा वित्तीय संस्थाले आवासीय घरमा ९ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जबकी गत वर्षको सोही अवधिमा ३९ अर्ब रुपैयाँ आवासीय कर्जा लगानी गरेका थिए ।
यस्तै, समीक्षा अवधिमा रियल इस्टेट कर्जामा पनि भारी गिरावट आएको छ । गत वर्षको फागुनसम्म रियल इस्टेटमा बैंकहरूले २९ अर्ब कर्जा लगानी गरेकोमा चालु आवमा ५ अर्ब १० करोड रुपैयाँ मात्र ऋण लगानी गरेका छन् ।
चालु आवको फागुन मसान्तसम्म घरजग्गामा बैंक तथा वित्तीय संस्थाहरूले कुल ५ खर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमा ३ खर्ब ४७ अर्ब रुपैयाँ आवासीय कर्जा र २ खर्ब ३३ अर्ब रुपैयाँ रियल इस्टेट क्षेत्रमा रहेको छ ।
गत असार मसान्तसम्म घरजग्गामा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५ खर्ब ६६ अर्ब रुपैयाँ थियो । गत वर्ष ८ महिनामा घरजग्गामा ६८ अर्ब कर्जा लगानी बढाउन सफल भएका बैंकहरू यसवर्ष साढे १४ अर्बमै सीमित भएका हुन् ।
घरजग्गामा किन ह्वात्तै घट्यो कर्जा लगानी ?
घरजग्गामा बैंकहरूको कर्जा लगानीमा भारी गिरावट आउनुमा नेपाल राष्ट्र बैंकको कडाइ, आर्थिक मन्दी, तरलता अभाव, ब्याजदर वृद्धि लगायत मुख्य कारण रहेका छन् ।
घरजग्गा क्षेत्रलाई अनुत्पादक क्षेत्र भन्दै राष्ट्र बैंकले गत वर्षदेखि यस क्षेत्रमा कर्जा लगानीमा कडाइ गरेको छ । कोभिडपछि नेपाल राष्ट्र बैंकले अर्थतन्त्र पुनरुत्थानका लाग लिइएको खुकुलो मौद्रिक नीतिले बजारमा तरलता अधिक प्रवाह हुँदा घरजग्गामा अत्याधिक लगानी बढेको थियो । वित्तीय संस्थाले घरजग्गामा अस्वभाविक कर्जा लगानी बढाएपछि राष्ट्र बैंकले कसिलो मौद्रिक नीतिमार्फत कर्जा लगानीमा कडाइ गरेको थियो ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जाको जोखिमभार शतप्रतिशत बढाएर १५० प्रतिशत पुर्याएको थियो । जोखिमभार बढेपछि बैंक तथा वित्तीय संस्थाहरूले यस क्षेत्रमा कर्जा लगानी गर्न चासो नदेखाउँदा ऋण लगानीमा गिरावट आएको हो ।
यस्तै, राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई घर/जग्गा धितो राखेर प्रयोजन नखुलेको कर्जा प्रवाहमा कडाइ गरेको थियो । राष्ट्र बैंकले घरजग्गा धितोमा काठमाडौं उपत्यकाभित्र मार्केट भ्यालुको बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको थियो । यसले पनि कर्जा लगानीमा केही गिरावट ल्याएको बैंकरहरू बताउँछन् ।
घरजग्गा कारोबारमा आर्थिक मन्दीका कारण पनि गिरावट आएको छ । समग्र अर्थतन्त्रमा मन्दी आई व्यापार व्यवसायमा संकुचन आउँदा मानिसहरूको आम्दानी समेत घटेको छ । आम्दानी घटेपछि बैंकबाट ऋण लिएर घरजग्गा किन्ने आँट नहुँदा कारोबार प्रभावित भएको हो ।
यसैगरी, बैंकिङ प्रणालीमा भएको तरलता अभाव र महँगो ब्याजदरले पनि घरजग्गा कारोबारमा गिरावट आएको व्यवसायी बताउँछन् । गत वर्षदेखि बैंकिङ प्रणालीमा लगानी योग्य रकम नहुँदा बैंकबाट सहजै ऋण पाउने अवस्था छैन । यदि ऋण पाइ हाले पनि ब्याजदर उच्च रहेकाले लगानीकर्ताहरूले बैंकबाट ऋण लिएर घरजग्गामा लगानी गर्ने आँट गर्न सकेनन् । बैंकहरूमा कर्जाको माग ठप्पप्रायः रहेको छ ।
यस्तै, सेयर बजारमा आएको गिरावट, सरकारले गत जेठदेखि लागू गरेको भूउपयोग नियमावलीका कारण पनि घरजग्गाको कारोबारमा गिरावट आएको हो । भू उपयोग नियमावलीका कारण कृषि र गैर कृषि योग्य क्षेत्र नछुट्याई कित्ताकाट गर्न नपाउने व्यवस्था गरियो । जसकारण टुक्रा जग्गाको अभावमा कारोबार प्रभावित भएको थियो । यद्यपि, हालै सरकारले यथास्थितिमै जग्गाको कित्ताकाट खुला गरेको छ ।
लगानी बढाउन ल्याउन थाले स्कीम
ऋणको माग नभएपछि लगानी बढाउन बैंकहरुले विभिन्न सहुलियत अफर ल्याउन थालेका छन् । अहिले वित्तीय प्रणालीमा २ खर्ब बढी लगानी योग्य रकम भए पनि कर्जाको माग नभएपछि आकर्षक अफरहरु ल्याउन थालेका हुन् ।
वित्तीय संस्थाको सुरक्षित र सहज लगानी मानिएको रियलइस्टेट र घरजग्गामा यस वर्ष न्यून ऋण प्रवाह भएको छ । जसको कारण बैंकहरुले ऋण लगानी वृद्धि गर्न माग सहुलियत ब्याजदरमा कर्जा लगानी गर्ने बाटो खोजिरहेका छन् ।
एनएमबी बैंकले ९.९९ प्रतिशत, महालक्ष्मी विकास बैंकले १२.९९ प्रतिशतमा घरकर्जाको स्कीम ल्याएका छन् । लक्ष्मी बैंक, नबिल, एनआइसी एसिया, ग्लोबल आइएमई, प्रभु, इन्भेष्टमेन्ट मेगाा, स्ट्यान्डार्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य बैंक लगायतले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर घरकर्जाको ब्याजदर तोकेका छन् ।
पछिल्लो समय वित्तीय संस्थाहरु बीचको व्यवसायीक प्रतिस्पर्धाले हरेक बैंकले सहुलियत ब्याजदर सहितमा विभिन्न अफरहरु ल्याउने गरेका छन् ।