म्याद सकिने अवधिसम्म नारायणघाट-बुटवल सडकको निर्माण प्रगति ३० प्रतिशत

काठमाडौं । नारायणघाट–बुटवल सडक विस्तारको ठेक्का सम्झौता सकिन तीन महिना मात्र बाँकी हुँदा भौतिक प्रगति भने ३० प्रतिशत मात्र भएको छ ।

निर्माणमा गरिएको ढिलाइ र सुस्तताले म्याद सकिने अवधिसम्म आधा पनि भौतिक प्रगति भएको छैन । ठेक्का सम्झौता अवधिमा सडक विस्तार आयोजना निर्माण हुन नसकेपछि सरकारले म्याद थप्ने तयारी गरेको छ ।

आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर शिव खत्रीका अनुसार चालु आर्थिक वर्षमा आयोजना अन्तर्गत ६ प्रतिशत मात्र काम भएको छ । २०७५ चैत्रमा चाइना स्टेट कन्स्ट्रक्सनलाई ठेक्का दिइएको यो आयोजनाको अन्तिम म्याद २०८० साउन २२ गतेसम्म छ ।

ठेक्का सम्झौता अनुसार २ लेयरको कालापत्रे गर्नुपर्छ । तर, हालसम्म ५.६ किलोमिटर सडकमा पहिलो लेयरको कालोपत्रे सम्पन्न भएको उनले बताए । ४९ किलोमिटर मध्ये जम्मा ५.६ किलोमिटर सडक कालोपत्रे भएको हो ।

२५३ मध्ये १३२ वटा कल्भ निर्माण भएको उनले जानकारी दिए । साना पुलहरु २१ वटा रहेकोमा १३ वटा पुरा भइसकेका छन् । उनले मुख्य ठूला पुलहरु ९ वटा रहेकामा ३ वटाको निर्माण सम्पन्न भएको बताए ।

४०.८ किलोमिटरमा नाली निर्माणको काम गर्नुपर्नेमा २०.२ किलोमिटर नालीको काम सम्पन्न भएको छ । ‘५.६ किलोमिटर सडक कालोपत्रे भइसकेको छ, म्याद सकिन ३ महिना बाँकी छ, म्याद थपको प्रक्रिया भइरहेको छ,’ इन्जिनियर खत्रीले भने । उनका अनुसार हाल बदरा खण्डमा कालोपत्रेको काम भइरहेको छ ।

म्याद थप गर्ने तयारी

चिनीयाँ कम्पनीले निर्माण पुरा गर्न म्याद थपका लागि माग गरेको उनले बताए । विगतमा कोभिड–१९ का कारण प्रगति देखाउन नसकेको नारायाणघाट– बुटवल सडक विस्तार आयोजनाले १ वर्षका लागि म्याद थपको माग गरेको छ ।

उनले आयोजनामा चिनीयाँँ कम्पनीले कामको गति बढाएका कारण म्याद थप गरेर निर्माण अघि बढाइने बताए ।

निर्माणमा लाप्रबाही

विस्तारको क्रममा रहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल खण्डको काम सुरु भएको ४८ महिना अर्थात ५ वर्ष पुरा हुनै लाग्दा समेत न्यून प्रगति देखिएको छ ।

विगतमा कोभिड–१९ का कारण प्रगति देखाउन नसकेको यस सडक विस्तार आयोजनाको रुख कटान, बिजुलीका पोल, उपकरण परिचालन लगायतका कारण ढिलाइ भएको ठेकेदार कम्पनीले बताउदै आएको छ ।

कोभिडमा रोकिएको आयोजना त्यसपछि क्रसर उद्योग बन्द भएका कारण गति लिन नसकेको उसको दाबी छ । तर, निर्माणमा लाप्रबाही र विभिन्न बाहना गर्दा समयमै बन्नुपर्ने आयोजना अलपत्र जस्तै छ ।

आयोजना सुरुभएदेखि हालसम्म १७ प्रतिशत रकम भुक्तानी भइसकेको छ । एसियाली विकास बैंक (एडीबी) को ८५ प्रतिशत ऋण सहयोगमा यो सडक विस्तार भइरहेको आयोजनाको प्याकेज–१ को लागत ९ अर्ब १५ करोड ७२ र प्याकेज–२ को लागत ७ अर्ब ८६ करोड ३२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

सेयर बजार सामान्य अंकले बढ्यो, यी कम्पनीको मूल्यमा सकारात्मक सर्किट Read Previous

सेयर बजार सामान्य अंकले बढ्यो, यी कम्पनीको मूल्यमा सकारात्मक सर्किट

अस्थिर नीतिले विद्युतीय सवारीको प्रवर्द्धन हुन सकेन Read Next

अस्थिर नीतिले विद्युतीय सवारीको प्रवर्द्धन हुन सकेन