काठमाडौं । सेनिटरी प्याडमा सरकारले दिएको भन्सार छुटको असर आयातमा देखिएको छ । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत सेनिटरी प्याड आयातमा ९० प्रतिशतसम्म भन्सार छुटको व्यवस्था गरेको थियो ।
सेनिटरी प्याडमा नेपाल आत्मनिर्भर भए पनि भन्सार छुट दिँदा आयात दोब्बर बढीले बढेको भन्सार विभागको तथ्यांकले देखाउँछ । चालु वर्षको ९ महिना (साउन–चैत्र) मा २ अर्ब २४ करोड ४ लाख ९० हजार रुपैयाँ बराबरको सेनिटरी प्याड आयात भएको हो । सो मूल्यमा १६ करोड ५९ लाख ८५ हजार पिस सेनिटरी प्याड आयात भएको भन्सार विभागको तथ्यांक छ ।
जबकि अघिल्लो आर्थिक वर्षभरीमा २०७८/७९ मा कुल १ अर्ब ११ करोड ११ लाख रुपैयाँ बराबरको १२ करोड ९१ लाख ९४ हजार पिस सेनिटरी प्याड आयात भएको थियो ।
कर छुट पछि नेपालमा सेनिटरी प्याडको आयात दोबर वृद्धि भएको भन्सार विभागका सूचना अधिकारी पूण्यविक्रम खड्काले बताए । ‘सरकारले सेनिटरी प्याडमा छुट दिएको कारण आयात बढेको हो, विस्तारै निर्यात पनि बढ्दै छ,’ उनले चाणक्य पोष्टसँग भने ।
आव २०७७/७८ मा कुल १ अर्ब १७ करोड ७० लाख रुपैयाँ बराबरको ३ करोड ७४ लाख ५४ हजार ७३९ पिस सेनिटरी प्याड आयात भएको विभागले जनाएको छ । यस्तै सरकारले महिनावारी हुने महिलाका लागि सेनिटरी प्याड खरिद गर्न वार्षिक १५ सय रुपैयाँ उपलब्ध गराउने बजेट मार्फत घोषणा गरेको थियो । तर, आर्थिक वर्षको अन्तिमसम्म व्यवहारमा त्यो कार्यान्वयन भएको छैन ।
निर्यात पनि बढ्दै
प्याड उत्पादकहरुका अनुसार नेपालसँग मागभन्दा तीन गुणा बढी सेनिटरी प्याड उत्पादन क्षमता छ । तर, आन्तरिक बजारमा भने विदेशी प्याडकै प्रयोग र माग बढ्दो देखिन्छ ।
यद्यपि पछिल्लो समय स्वदेशी सेनिटरी प्याडको निर्यात पनि हुन थालेको छ । चालु आर्थिक वर्षको ९ महिनामा २५ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको सेनिटरी प्याड निर्यात भएको छ । सो मूल्यमा १ करोड ७९ लाख ९२ हजार २५२ पिस सेनिटरी प्याड निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।
आव २०७८/७९ को ९ महिनामा २९ लाख ९२ हजार रुपैयाँमा १४ लाख ८५ हजार पिस प्याड निर्यात भएको थियो । सो आवमा कुल ३ करोड ५१ लाख ५६ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ३० हजार २६४ पिस सेनिटरी प्याड निर्यात भएको तथ्यांकले देखाएको छ ।
२०७७/७८ मा कुल १ करोड ६१ लाख ४९ हजार रुपैयाँको सेनिटरी प्याड निर्यात भएको थियो । सो मूल्यमा २ लाख ६२ हजार १७९ पिस सेनिटरी प्याड निर्यात भएको थियो ।
२०७६/७७ मा नेपालबाट कुल १ करोड ९ लाख ७० हजार रुपैयाँ बराबरको सेनिटरी प्याड निर्यात भएको थियो । सो मूल्यमा ४२ लाख ७९ हजार ३६४ पिस सेनिटरी प्याड निर्यात भएको हो ।
तीन दर्जन प्याड उद्योग
नेपालमा ३५ वटा उद्योगले सेनिटरी प्याड उत्पादन गर्दै आएका छन् र त्यहाँ करिब ६ हजार जनाले रोजगारी पाएका छन् । नेपालमा पहिलो पटक चितवनमा सेनिटरी प्याड उद्योग कम्पनी खुलेको थियो ।
मितेरी जैविक सेनिटरी प्याड नामक उक्त कम्पनीले १८० दिनमा डिस्पोज हुने सेनिटरी प्याड निर्माण जनाएको छ । सो प्याड निर्माणका लागि कच्चा पदार्थ भने भारतबाट नै आयात हुने गरेको छ ।