जग्गा तथा आवास विकास संघको अध्यक्षमा विदुर धमला

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघको १६ औं साधारण सभाबाट आगामी दुई वर्षका लागि विदुर धमला अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

बुधारबार काठमाडौंमा सम्पन्न भएको १६ औं साधारण सभामा अध्यक्षसहित ७ जना पदाधिकारी र ७ जना सदस्य निर्विरोध निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष धमलाले आफूसहित कार्य समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई निर्विरोध निर्वाचित गराई दिएकोमा संघका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिए ।

साथै उनले संघमा आबद्ध सम्पूर्ण व्यवसायीहरुका हक हितका लागि सम्पूर्ण सदस्यहरुसँग सल्लाह एवं समन्वय राखी कार्य गर्ने दृढता प्रकट गरे । नयाँ कार्य समितिको अध्यक्षमा एस.बी.कम्पनीका बिदुर धमला, प्रथम उपाध्यक्षमा सी.डी. डेभलपर्स प्रालिका दिपक कुवँर, द्वितीय उपाध्यक्षमा कन्टिनेन्टल डेभलपर्सका पुरुषोत्तम पौड्याल, तृतीय उपाध्यक्षमा सनराइज डेभलपर्सका सुमितकुमार अग्रवाल, महासचिवमा सचिवमा इस्टेट गुरुका रोशन भोयद्यो, सचिवमा निलगिरी हाउजिङ्गका गोविन्दप्रसाद लोहनी र कोषाध्यक्षमा अधिकारी बिल्डर्सका तुलसीप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी कार्य समितिको ७ जना सदस्यमा बहादुरकृष्ण ताम्राकार, दिपक मलहोत्रा, पूर्णिमा राजभण्डारी, निश्चलबहादुर श्रेष्ठ, बरुणकुमार आचार्य, डेगेन्द्रकुमार श्रेष्ठ, मुनसन वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।

उद्घाटन सत्रमा संघका अध्यक्ष इच्छाबहादुर वाग्लेले आफ्नो कार्यकालमा भएको कार्य विवरण प्रस्तुत गर्दै नीति निर्माण तहमा सच्चा व्यवसायिक ब्यक्तिहरुको उपस्थिति हुन आवश्यक भएको, उद्योग व्यवसायका सम्पूर्ण वस्तुगत क्षेत्रमा नै चर्को ब्याजको प्रभावले ८०% व्यवसायीहरु प्रभावित भएको, बैंक वित्तीय प्रणालीमा अर्थ मन्त्रालयले हस्तक्षेप गरी लगानीमैत्री बैंकिङ्ग प्रणाली श्रृजना गरी दिनुपर्ने, कित्ताकाट तत्काल पूर्व अवस्थामा फर्काउनुपर्ने बताए ।

उनले नेपाल जग्गा तथा आवास महासंघले चाल्ने कदममा आफू सँधै सहयोगी रहने प्रतिवद्धता व्यक्त गर्दै आफ्नो नेतृत्वको कार्य समितिलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गर्ने सबै सदस्यहरुप्रति हार्दिक आभार प्रकट गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रमुख अतिथिको रुपमा संघको १६ औं साधारण सभाको उद्घाटन गर्दै रियल इस्टेट व्यवसायीहरुको माग सम्बोधन गर्न प्रयासरत रहने र हालको बजार संकुचन हटाउन पहल गर्ने प्रण गरे । उनले नयाँ कानून तथा नीति जारी गर्नुभन्दा पहिले सोसँग सम्बन्धित सरोकारवालासँग छलफल गरेर जारी गरेमात्र त्यस्ता कानून तथा नीतिहरु कार्यान्वयन गर्न सहज हुने र सरकारले स–साना उपकरणहरुको प्रयोग गरेर पनि जन विश्वास आर्जन गर्न सक्ने विचार व्यक्त गरे ।

त्यसैगरी विशिष्ठ अतिथिको रुपमा रहेकाका सो महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाल राष्ट्र बैंकले अर्थतन्त्र संकुचन नहुने नीति अवलम्बन गर्नुपर्ने, सरकारले नीति जारी गर्दा व्यवसायीहरुलाई हैरानी दिन नहुने, घरजग्गाको व्यवसाय अनुत्पादक क्षेत्र नभएकोले यसलाई चलायमान बनाउनु पर्ने धारण राख्दै एफएनसीसीआई संघसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विशेष अतिथिको रुपमा उपस्थित एफएनसीसीआईका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले सरकार तथा नेपाल राष्ट्र बैंकको नीतिले गर्दा घरजग्गा मात्र नभई उपभोग्य सामान उत्पादन गर्ने सबै उद्योगहरु प्रभावित भएकोले एकीकृतरुपमा अर्थ सम्बन्धी समस्या समाधान गर्नुपर्ने कुरामा जोड दिँर्दै निजी क्षेत्रमा अख्तियार पस्ने कुरामा रोक लगाउनुपर्ने कुरा बताए ।

साथै उनीहरुले संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिँदै महासंघ सदा संघसँग सहकार्य गरी परिणाममूखी कार्य गर्न तत्पर रहेको कुरा बताए ।

टोपबहादुर रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी Read Previous

टोपबहादुर रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी

बैंकले राेके सवारी कर्जा, माग नहुँदा भन्सारमै थन्किए एक हजार बढी नयाँ सवारी साधन Read Next

बैंकले राेके सवारी कर्जा, माग नहुँदा भन्सारमै थन्किए एक हजार बढी नयाँ सवारी साधन