काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सात विदेशी गन्तव्यमा उडान गर्न अध्ययन गरिरहेको छ । चीनसहित छ मुलुकमा उडानका लागि आवश्यक अध्ययन गरिरहेको निगमले जनाएको छ ।
चीनको गोन्जाओ, साउदी अरबको रियाद र जापानको नारिताका लागि उडानको तयारी गरिरहेको निगमले थप अन्तर्राष्ट्रिय उडान विस्तार गर्नका लागि अध्ययन अघि बढाएको हो ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले तीन अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो तर्फबाट तयारी पूरा भए पनि सम्बन्धित मुलुकहरुले उडानका लागि अनुमति नदिएकाले रोकिएको बताए ।
‘हाम्रो तर्फबाट सबै काम गरिसकेका छौँ, उनीहरुको अनुमती भए उडान सुरु गरि हाल्छौँ, २०२० मार्चसम्ममा ३ वटै जहाज उडाने लक्ष्य राखेका छाैं,’ खरेलले भने ।
आज पत्रकार सम्मेलनमा बोल्दै उनले निगम जापान उडानबाट नाफामै रहेको भन्दै यो वर्ष विभिन्न खर्च कटौती गरी २ अर्ब १७ करोड रुपैयाँ बचाउने दाबी गरे ।
यस्तै निगमले थप ४ वटा सर्भिस बस चाडै ल्याउने योजना बनाएको छ । २ वटा सर्भिस बस थपेको निगमले थप ४ वटा बस सञ्चालनमा ल्याउन अध्ययन थालेको हो । साथै जनवरी २०२० सम्ममा मोबाइल एपको व्यवस्था ल्यानुका साथै एसएमएस अलर्टको समेत व्यवस्था मिलाइने निगमले जनाएको छ ।
निगमले चाँडैनै अन्तर्राष्ट्रिय जहाजमा डिउटी फ्री सपिङको समेत व्यवस्था गर्ने योजना बनाएको छ ।