काठमाडौं । पूँजी बजारको नियामक नेपाल धितोपत्र बार्डले नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्न प्रक्रिया अघि बढाएको छ । बोर्डले नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्न गरेको आह्वानमा तीन कम्पनीले आवेदन दिएका छन् ।
आवेदन दिएका हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्ज मध्ये एक कम्पनी छनोट हुनेछ । हाल नेपालमा सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्ज मात्र सञ्चालनमा छ ।
आवेदन परेका कम्पनी मध्येबाट छनोट हुने निजी क्षेत्रको एक र हाल संञ्चालनमा रहेको नेप्सेगरी पूँजी बजारमा दुई एक्सचेन्ज कम्पनी हुनेछन् । बोर्डले नयाँ स्टक एक्सचेन्ज सञ्चालनको प्रक्रिया अघि बढाएसँगै विवाद पनि सुरु भएको छ ।
अर्थतन्त्रको आकार र लगानीकर्ताको संख्याको आधारमा नेपालमा अर्को स्टक एक्सचेन्ज आवश्यक नपर्ने कतिपयको तर्क छ । अर्कोतिर बजारलाई चलायमान र प्रतिस्प्रर्धात्मक बनाउन निजी क्षेत्रबाट समेत स्टक एक्सचेन्ज आवश्यक पर्ने बोर्डका अधिकारी र सेयर होल्डरहरुको दाबी छ ।
सरकारी संस्थानहरु मध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल स्टक एक्सचेन्ज पनि अग्रणी स्थानमा छ । सोही कारण केही व्यापारीक घरानाले आफ्नो फाइदा र नाफा आर्जनका लागि नयाँ एक्सचेन्जको लाइसेन्स लिन चलखेल गरिरहेको भन्दै संसददेखि व्यापारीक वित्तमा चर्चा चलेको छ ।
कसरी हुन्छ सेयर कारोबार ?
नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आए पुरानो के हुने र त्यसमा सूचीकृत कम्पनी अर्कोमा हुन्छन् कि हुँदैनन्, लगानीकर्तालाई के फरक पर्छ जस्ता विभिन्न प्रश्नहरु उठेका छन् । यद्यपि नयाँ एक्सचेन्ज सञ्चालनको कार्यविधि बनेको छैन । कार्यविधि अनुसार कारोबार र अन्य व्यवस्था हुने बोर्डका अधिकारी बताउँछन् ।
‘ब्रोकर शुल्कदेखि प्रतिस्पर्धात्मक बजार हुने भएकाले लगानीकर्ताहरुको लागि पनि अप्सन रहन्छ,’ बोर्डका एक अधिकारी भन्छन्, ‘जुनसुकै एक्सचेन्ज मार्फत लगानी गरे पनि कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्ने हो । यसले खासै फरक पार्दैन ।’
बोर्डमा परेका आवेदनमाथि संञ्चालक समितिले अध्ययन गरेपछि एक महिनाभित्र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिइने उनले बताए । बोर्ड अधिकारीका अअनुसार डिम्याट खाता लगायत अन्य आधारभुत कुराहरु उही हुनेछन् भने एउटै कम्पनी दुवै वा एउटा एक्सचेन्जमा मात्र सूचीकृत हुन सक्नेछ ।
लगानीकर्तालाई के फाइदा ?
इन्भेष्टर्स फोरमका नेपालका छोटेलाल रौनियार नयाँ एक्सचेन्ज आउँदा पूँजी बजारमा प्रतिस्पर्धा हुुने भएकाले उच्च स्तरीय प्रविधि मार्फत लगानीकर्तालाई कारोबारको लागि सहज हुने बताउँछन् ।
‘नयाँ स्टक एक्सचेन्ज लगानीकर्ताको पनि माग हो । सेबोनले पहिलेदेखि नीति तथा कार्यक्रममा राख्दै आएको थियो’, उनले भने, ‘प्रविधिमा नेप्से अहिले पनि कमजोर छ । बजारमा एउटा मात्र एक्सचेन्ज हुँदा खाएखा नखाए घिचको अवस्था आएको छ । प्रतिस्पर्धा भयो भने गुणस्तर बढ्ने हो ।’
नयाँ एक्सचेन्ज आउँदा पुरानो खत्तम हुने वा सक्किने नभएर प्रविधिमा अपग्रेड हुन र त्यही अनुसारको सुविधा सहित कारोबारमा सहज बनाउन मद्दत पुग्ने उनले बताए । ‘यो आउँदा नयाँ टेक्नोलोजी, सुविधा लिएर आउँछ । अहिलेसम्म बजारमा इन्ट्र्रा डे, अप्सन मार्केट, रिसेल, सटसेल केही पनि छैन । नयाँ क्षेत्रहरु आउँछन् । त्यो भनेको पूँजी बजारकै विकास र विस्तार हो’, उनले भने ।