काठमाडौं । कर्जाको ब्याजदर घट्नुका साथै बैंकिङ प्रणालीमा लगानी योग्य रकम भए पनि कर्जाको माग नबढेपछि बैंकहरूले लगानीको क्षेत्र खोज्न थालेका छन् ।
बैंकरहरूका अनुसार अहिले बैंकिङ प्रणालीमा २ खर्ब बढी लगानी योग्य रकम छ । वैशाखदेखि कर्जाको ब्याजदर पनि घटेको छ । तर, कर्जाको माग बढ्न नसकेको बैंकरहरू बताउँछन् ।
कर्जाको माग नबढेपछि बैंकहरूले लगानी बढाउन सहुलियत ब्याजदरमा आवास, सवारी लगायत विभिन्न कर्जाका अफरहरू ल्याउन थालेका हुन । उच्च ब्याजदरका कारण माग नहुँदा यस वर्ष बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्न सकेका छैनन् ।
कर्जा विस्तार नभएपछि बैंकहरूले गत फागुनदेखि ब्याजदर घटाएका छन् । तर, आन्तरिक अर्थतन्त्रमा देखिएको संकटका कारण अझै माग वृद्धि नभएको बैंकरहरू बताउँछन् । संस्थाहरूसँग स्रोत हुँदाहुँदै ब्याजदर घटाउँदा पनि कर्जाको माग नबढेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।
‘अहिले पनि कर्जाको माग बढ्न सकेको छैन । महंगो ब्याजदरले हो कि भन्ने हिसाबले हामीले चैतमा प्रिमियम नै घटाएका थियौं,’ उनले भने, ‘तर, अहिले ब्याजदर एकल अंकमा छ । कर्जाको माग भने बेढेको छैन ।’ नेपाल राष्ट्र बैंकका अनुसार अहिले वित्तीय संस्थाको सीडी रेसियो औषतमा ८५ प्रतिशत छ भने करिब २ खर्ब रुपैयाँ तरलता छ ।
बैंकहरूले ९० को असीडी अनुपातसम्म कर्जा लगानी गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । चालु वर्षको १० महिनामा बैंकहरूले डेढ खर्ब समेत कर्जा लगानी गरेका छैनन् । जबकी अघिल्लो वर्षको ६ महिनामै लक्ष्यको ६० प्रतिशत लगानी गरिसकेका थिए ।
अघिल्लो त्रैमासमा पछिल्लो एक दशकयताकै उच्च पुगेको ब्याजदर यस त्रैमासदेखि ओरालो लाग्न थालेको छ । बैंकहरूले तरलता संकटले महंगो लागतमा निक्षेप संकलन गर्न गरेका बैंकको आधादर नै दोहोरो अंकमा पुगेको थियो ।
अहिले निक्षेपको ब्याजदर एकल अंकमा छ । वाणिज्य बैंकले वैशाखमा व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ र संस्थागत ७.९९ प्रतिशत ब्याज दिइरहेका छन् । बैंकको आधारदर पनि दुई वर्षपछि घटेको छ ।
पुसमा १०.७८ रहेको वाणिज्य बैंकको आधारदर चैतमा घटेर १०.४८ प्रतिशत कायम भएको छ । हाल कर्जाको औषत ब्याजदर १३.०३ प्रतिशत रहेको छ । आवको सुरूमा वाणिज्य बैंकको आधारदर ११ प्रतिशतभन्दा माथि पुग्दा कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुगेको थियो ।
आवको पहिलो त्रैमासमा प्रणालीमा लगानीयोग्य स्रोतको अभाव र त्यसपछि महंगो ब्याजदरले वित्तीय संस्थाको व्यवसाय मात्र नभएर उद्योगधन्दामा पनि लगानी सुस्ताएको छ । जसको कारण आर्थिक वृद्धि र अर्थतन्त्रको आन्तरिक चक्रमै समस्या देखिएको छ ।
आवासदेखि सवारी कर्जाको अफर
वाणिज्य बैंकबीच कर्जा लगानी बढाउन आवास तथा सवारी कर्जाको अफर ल्याउने प्रतिस्पर्धा देखिएको छ ।नबिल बैंकले नबिल हाउजिङ लोन र अटो लोन अफर ल्याएको छ । अटो कर्जा अन्र्तगत ८० प्रतिशतसम्म फाइनान्सिङ गर्ने जनाएको छ भने ब्याजदर आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम निर्धारण गरेको छ ।
स्ट्यान्डार्ड चार्टर्ड बैंकले ११.२९ प्रतिशत ब्याजदरमा स्थिर घर कर्जाको अफर ल्याएको छ । गरिमा विकास बैंकले व्यवसाय, सवारी र घर कर्जाको सुविधा ल्याएको छ । एनएमबी बैंकले ११.९९ प्रतिशत ब्याजदरमा घरकर्जा सुविधा ल्याएको छ ।
बैंकको व्यवसाय खुम्चिएपछि यस वर्ष नाफा समेत धेरै संस्थाको घटेको छ । जसको कारण बैंकले सहुलियत ब्याजदरमा ऋणिलाई कर्जा लिनका लागि आकर्षण गरिरहेका छन् । प्रभुले प्रभु होमलन, अटोलोन सुविधा ल्याएको छ ।
ग्लोबल आइएमईले होमलोन र अटोलोनको ब्याजदर ११ देखि १४ प्रतिशतसम्म निर्धारण गरेको छ । सानिमाले शैक्षिक कर्जादेखि होम र सवारी कर्जाको अफर ल्याएको छ । यसैगरी, लक्ष्मी, कुमारी, राष्ट्रिय वाणिज्य, कृषि विकास, नेपाल, सनराइज, हिमालयन, महालक्ष्मी विकास लगायत बैंकहरूले विभिन्न सहुलियत ब्याजदर सहित कर्जा सुविधा ल्याएका छन् ।
यी बैंकहरूले अटो र होम लोनको ब्याजदर आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर दिने जनाएका छन् ।