नयाँ स्टक एक्स्चेन्जका लागि ३ कम्पनीको आवेदन, एउटाले मात्र लाइसेन्स पाउने

काठमाडौं । नयाँ स्टक एक्स्चेन्जको लागि तीन कम्पनीले आवेदन दिएको छ । नयाँ स्टकका लागि आवेदन दिने अन्तिम दिन आइतबारसम्म तीन कम्पनीले आवेदन दिएका हुन् ।

नेपाल धितोपत्र बोर्डका अनुसार हिमालयन स्टक एक्स्चेन्ज, नेशनल स्टक एक्स्चेन्ज र अन्नपूर्ण स्टक एक्स्चेन्जले आवेदन दिएका हुन् ।

बोर्डले गत चैत ३० गते १० दिनको म्याद राखेर एउटा नयाँ स्कट एक्स्चेन्जका लागि आवेदन आह्वान गरेको थियो । अब आवेदन दिएका ३ मध्ये एउटा कम्पनीले लाइसेन्स पाउने छन् ।

लाइसेन्स हात पार्न नेपालका ठूला व्यवसायिक घरानाबीच प्रतिस्पर्धा हुने भएको छ । यसमा आर्थिक चलखेल र राजनीतिक दाउपेच समेत जोडिने भएकाले कसले लाइसेन्स हात पार्छ भन्ने टुंगो छैन ।

हिमालयन स्टकमा हिमालयन रि इन्स्योरेन्सका संचालकहरू नै मुख्य लगानीकर्ता रहेका छन् ।जसमा दीपक भट्ट, शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा लगायतको लगानी छ ।

यस्तै, नेशनलमा सिदार्थ ग्रुप, अग्नी ग्रुप, दीपम तिमलसिना, एनआरएनको पूर्व अध्यक्ष जीवा लामिछाने लगायतको लगानी रहेको छ । बोर्डका अनुसार नयाँ स्टकको चुक्ता पूँजी ३ अर्ब हुनुपर्नेछ । जसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधरणको ३० प्रतिशत लगानी रहने छ ।

यस्तै, कमोडिटी एक्स्चेन्जका लागि पनि चार कम्पनीले आवेदन दिएका छन् । बोर्डका अनुसार हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज, नेपाल मल्टी कमोडीटी एक्सचेन्ज र मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्जले आवेदन दिएका छन् ।

बोर्डले दुई वटा कमोडिटी एक्स्चेन्जका लागि आवेदन आह्वान गरेकामा चार कम्पनीले आवेदन दिएका हुन् । तीमध्ये अब दुईले लाइसेन्स पाउने छन् ।

सर्वोच्च अदालतको गत चैत २६ गतेको फैसलाले नयाँ स्टक कम्पनी, कमोडिटी मार्केट र धितोपत्र कारोबारका लागि नयाँ दलाल व्यवसायी (ब्रोकर) लाइसेन्स जारी गर्न बोर्डलाई बाटो खुलेको थियो ।

धितोपत्र बोर्डले गत असोज २ गते नयाँ स्टक र धितोपत्र दलाल व्यापारीको अनुमतिपत्रका लागि निवदेन मागेको थियो । बोर्डको उक्त निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसमेतलाई विपक्षी बनाई अधिवक्ता दीपक विक्रम मिश्रले गत असोज ३१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । तर उक्त मुद्दा सर्वोच्चको चैत २६ गतेको फैसलाले खारेज गरेपछि धितोपत्र बोर्डले चैत ३० गते सूचना जारी गर्दै वैशाख १० गतेसम्म आवेदन दिइसक्न भनेको थियो ।

धितोपत्र बजारको विकास तथा विस्तारका लागि नयाँ स्टक एक्सचेन्ज तथा कमोडिटी मार्केट खोल्न र थप ब्रोकर लाइसेन्स खुलाउन आवश्यक रहेको बोर्डले बताउँदै आएको छ । धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्तामैत्री एवम् अन्तर्राष्ट्रियस्तरको प्रविधि सहितको बनाउन पनि बजारमा नयाँ स्टक चाहिने बोर्डको भनाइ छ ।

वैशाख १८ देखि औपचारिक रूपमा संचालनमा आउँदै मौलाकाली केबलकार Read Previous

वैशाख १८ देखि औपचारिक रूपमा संचालनमा आउँदै मौलाकाली केबलकार

केएल दुगड समूहले ल्यायो ज्ञान मह Read Next

केएल दुगड समूहले ल्यायो ज्ञान मह