वैशाख १८ देखि औपचारिक रूपमा संचालनमा आउँदै मौलाकाली केबलकार

काठमाडौं । मौलाकाली केबलकार प्रालिद्वारा प्रबद्र्धित मौलाकाली केबलकार यही वैशाख १८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ ।

नवलपुरको गैँडाकोट १ मा निर्माण सम्पन्न केबलकार यही वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो । केबलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

आइएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केबलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो । गैडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन् ।

केबलकारमार्फत बटम स्टेशनबाट टप स्टेशनसम्प पुग्न करिब ५ मिनेटको समय लाग्छ । केबलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पुजाआजाका लागि जाने भक्तजनहरुका लागि सहज हुनेछ ।

केबलकारको माथिल्लो स्टेसनमा सुविधासम्पन्न ६० रुमको होटल, व्याङक्वेट हल र रेष्टुरन्ट सञ्चालनमा रहने छन् ।केबलकार सञ्चालन भए पनि होटल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने मौलाकाली केबलकार प्रालिले जनाएको छ ।

नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको छ ।

आइएमई ग्रुपको मुख्य लगानी रहेको केबलकारसहितको नयाँ पर्यटकीय गन्तब्य निर्माण काठमाडौँको चन्द्रागिरिमा निर्माणसम्पन्न भई सञ्चालनमा रहेको छ ।

त्यसैगरी, यस ग्रुपको मुख्य लगानी रहेको लुम्बिनी केबलकार प्रालिद्वारा प्रवद्र्धित अर्को केबलकार परियोजना रुपन्देहीको बुटवल बजारदेखि पाल्पाको वसन्तपुरमा निर्माणाधीन रहेको छ ।

उक्त केबलकार परियोजना पनि यसै महिनाको अन्त्यदेखि सञ्चालनमा आउने कम्पनिले जनाएको छ । आइएमई ग्रुपको लगानीमा सातवटै प्रदेशमा ठूला र नमूना पर्यटकीय पूर्वाधार निर्माणको चरणमा रहेका छन् ।

 

अर्थ मन्त्रालयमा पौडेलको इन्ट्री : अर्थतन्त्र सुधार्न कि बजेटमा 'सेटिङ' मिलाउन ? Read Previous

अर्थ मन्त्रालयमा पौडेलको इन्ट्री : अर्थतन्त्र सुधार्न कि बजेटमा 'सेटिङ' मिलाउन ?

नयाँ स्टक एक्स्चेन्जका लागि ३ कम्पनीको आवेदन, एउटाले मात्र लाइसेन्स पाउने Read Next

नयाँ स्टक एक्स्चेन्जका लागि ३ कम्पनीको आवेदन, एउटाले मात्र लाइसेन्स पाउने