बिग मर्जरबाट ठूला बनेका ६ बैंक : नबिल चम्कियो, अरू ‘सुन्निए’

काठमाडौं । बिग मर्जरबाट चुक्ता पूँजीका आधारमा ठूला बनेका वाणिज्य बैंकहरूको समग्र वित्तीय अवस्था सन्तोषजनक हुन नसकेको देखिएको छ ।

सार्वजनिक चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार चुक्ता पूँजीमा ठूला बनेका अधिकांश बैंकको वित्तीय अवस्था निराशाजनक रहेको हो ।

गत वर्ष नेपाल बंगलादेश बैंकलाई गाभेको नबिलले मर्जरबाट प्राप्त सिनर्जीले उल्लेख्य प्रगति गरे पनि अरु बैंकहरूले भने उपलब्धी हासिल गर्न नसकेको देखिएको छ ।

आफूभन्दा कमजोर बैंकहरूलाई गाभेका ग्लोबल आइएमई, प्रभु, हिमालयन, कुमारी र मेगा इन्भेष्टमेन्ट बैंकले मर्जरबाट सिनर्जी पाउन सकेको देखिँदैन । यी बैंकहरूले मर्जरपछि व्यवसाय विस्तार गरे पनि अन्य सूचकहरू भने निराशाजनक रहेका छन् ।

कमजोर बैंक गाभ्दा ती बैंकको विगतको कमसल कर्जा असुल हुन नसक्दा मर्जरमा गएका अधिकांश बैंकको खराब कर्जा उल्लेख्य रुपमा बढेको छ । मर्जरपछि ठूला बनेका सबै बैंकको खराब कर्जा औसतभन्दा माथि अर्थात् साढे ३ प्रतिशत बढी रहेको छ । जसमा हिमालयनको सबैभन्दा धेरै साढे ४ प्रतिशत रहेको छ ।

यस्तै, इन्भेष्टमेन्ट मेगा, प्रभु र हिमालयनको वितरण योग्य नाफा नै ऋणात्मक रहेको छ । निक्षेप, कर्जा, खुद ब्याज आम्दानी बढे पनि संचालन खर्च बढ्दा र कर्जा असुल हुन नसक्दा यी बैंकको खराब कर्जा बढ्न गई ठूलो रकम प्रोभिजन गर्नुपरेको छ ।

नबिल चम्कियो, अरु सुन्निए

मर्जरपछि नबिल बैंकले अधिकांश सूचकमा प्रगति गरे पनि अरु बैंकले चुक्ता पूँजी बढाउनु बाहेक अरु प्रगति गर्न नसकेको छ । चुक्ता पूँजीका आधारमा तेस्रो स्थानमा रहेको नबिल बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ ।

चैत मसान्तसम्म नबिलले ५ अर्ब ११ करोड खुद नाफा कमाएकाे छ । समीक्षा अवधिमा नबिलको नाफा ५२ प्रतिशतले बढेको छ । यस्तै, मर्जरबाट ठूला बनेका अन्य बैंकको तुलनामा नबिल वितरणयोग्य नाफा, प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ लगायत सूचकमा अघि रहेको छ ।

समीक्षा अवधिमा नबिलले ३ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको भने ३ खर्ब २३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । वितरणयोग्य नाफा १ अर्ब ७७ कारोड, सीडी रेसीयो ८४.८ प्रतिशत, प्रतिशेयर आम्दानी ११.०४ रुपैयाँ, खराब कर्जा ३.४८ प्रतिशत र आधारदर ९.९९ प्रतिशत रहेको छ । यस बैंकको संचिति कोष २७ अर्ब ३४ करोड रुपैयाँ छ ।

चुक्ता पूँजीका आधारमा सबैभन्दा ठूलो रहेको ग्लोबल आइएमई निक्षेप संकलन, कर्जा लगानी, खुद ब्याज आम्दानी लगायत सूचकमा अगाडि रहेको छ । जनता बैंक हुँदै बैंक अफ काठमान्डूलाई आफूमा गाभेर सबैभन्दा धेरै ३५ अर्ब ७७ करोड चुक्ता पूँजी भएको ग्लोबल आइएमई बैंक बनेको छ । यस्तै, चैतसम्म ग्लोबलले ४ खर्ब ९ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ६२ अर्ब कर्जा लगानी गरेको छ । चैतसम्म ग्लोबलले ४ अर्ब ३५ करोड खुद नाफा कमाएको छ ।

यस्तै, ग्लोबलको वितरणयोग्य नाफा ९६ करोड रुपैयाँ रहेको देखिन्छ । सीडी रेसीयो ८७.१७ प्रतिशत, प्रतिशेयर आम्दानी १६.२४ रुपैयाँ, खराब कर्जा ३.९६, आधारदर १०.६९ र पूँजीकोष ५५ अर्ब रुपैयाँ रहेको छ ।

इन्भेष्टमेन्ट मेगाा बैंकको ३ खर्ब ५० अर्ब निक्षेप संकलन र ३ खर्ब ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । वितरणयोग्य नाफा ४७ करोड, सीडी रेसीयो ८७.०५ प्रतिशत, खराब कर्जा ३.९४ प्रतिशत, आधारदर १०.१६ प्रतिशत पूँजीकोष २२ अर्ब रुपैयाँ रहेको छ ।
कुमारी बैंकको ३ अर्ब निक्षेप संकलन, २ अर्ब ७५ करोड कर्जा लगानी, २४ लाख वितरणयोग्य नाफा, सीडी रेसीयो ८९.६९ प्रतिशत, खराब कर्जा ३.९७ र बेसरेट १०.९३ प्रतिशत छ ।

यसैगरी, प्रभु बैंक र हिमालयन बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । हिमालयनको खराब कर्जा ४.५६ प्रतिशत पुगेको छ भने प्रभुको ३.४८ छ । सीडी रेसीयो पनि हिमालयनको ९०.५ छ भने प्रभु बैंक ८४.८ प्रतिशत रहेको छ ।

यस अवधिसम्म हिमालयनले २ खर्ब ६३ अर्ब निक्षेप संकलन र २ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । प्रभुले २ खर्ब ७७ अर्ब निक्षेप संकलन गर्दा २ खर्ब ४२ अर्ब कर्जा लगानी गरेको छ ।

 

तनहुँ र चितवनमा पर्ने राजमार्गमा आज दिनभर सवारीसाधन बन्द Read Previous

तनहुँ र चितवनमा पर्ने राजमार्गमा आज दिनभर सवारीसाधन बन्द

यातायात व्यवसायीद्वारा निर्माण सामग्री ढुवानी ठप्प Read Next

यातायात व्यवसायीद्वारा निर्माण सामग्री ढुवानी ठप्प