काठमाडौं । चितवन क्षेत्र नं. र तनहुँ क्षेत्र नं. १ भित्र पर्ने राजमार्ग खण्डमा आज दिनभर सवारीसाधन बन्द गरिएको छ ।
यी क्षेत्रमा आज उपनिर्वाचन भइरहेकाले सुरक्षा संवेदनशीलतालाई मध्येनजर गर्दै साँझ ६ बजेसम्म अत्यावश्यक बाहेक सवारीसाधन संचालनमा रोक लगाइएको छ ।
पृथ्वीराजमार्गको तनहुँ–१ खण्ड तथा स्थानीय राजमार्ग पूर्णरूपमा बन्द गरिएको छ । मुग्लिन पुलबाट व्यास नगरपालिकाको चापाघाटसम्म, डुम्रे–बेँसीसहर सडकखण्ड, आँबुखैरेनी–गोरखा सडकखण्ड, दमौली–दुईपिप्ले सडकखण्डलगायत सम्पूर्ण स्थानीय सडकमा यातायात बन्द गरिएको छ ।
यस्तै, चितवन क्षेत्र नं. २ मा पर्ने महेन्द्र राजमार्ग र पृथ्वी राजमार्गमा पनि यातायात संचालन बन्द गरिएको छ ।
दमकल, एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दूध बोक्ने सवारीसाधन, शववाहन, फोहरमैला ओसार्ने सवारीसाधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको पत्रसहित चलेको सवारीसाधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेसपास भएको पत्रकार चढेको सवारी भने निर्वाध सञ्चालन हुन पाउने छन् ।