अध्यक्षले १४ करोड कुम्ल्याएर भागेपछि सहकारी सञ्चालक नै पीडित !

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी रु १४ करोड रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् ।

दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामेछापको गुन्सीभदौरे-७ घर भई बनेपामा बस्दै आएका ३० वर्षीय कुमार गौतम दुई सहकारीबाट रु १४ करोड लिएर फरार भएपछि दुवै सहकारीका सञ्चालक नै पीडित बनेका छन् ।

दौपदाका अन्य सञ्चालकका अनुसार उक्त सहकारीको करिब रु ५ करोड रकम अपचलन भएको छ । सोही सहकारीका सञ्चालक समितिका उपाध्यक्ष झम्कप्रसाद गौतमको रु ६५ लाख र उनका दाजु देवीप्रसाद गौतमको रु ५१ लाखसमेत गौतमले लिएर फरार भएको बताइएको छ ।

गौतम प्रमुख कार्यकारी अधिकृतसमेत रहेको पुण्यश्वर सहकारीको चौँरीदेउराली र पाँचखाल सेवा केन्द्रमा बचत गर्ने बनेपा नगरसहितका ७ हजार २०० सदस्यको रु ९ करोड रकम गौतमले नै खर्च गरेर महिनौँदेखि बेपत्ता भएको पीडितको निवदेनमा उल्लेख छ ।

गौतमका साथै सो सहकारीका सचिव गङ्गाबहादुर तामाङ, अमृत गौतम, टीकालाल श्रेष्ठलगायत ३१ बचतकर्ताले बनेपा नगरपालिका कार्यालय, सहकारी विभाग, जिल्ला प्रशासन, प्रहरी कार्यालयलगायतका स्थानमा उजुरी दिएका छन् । विसं २०७९ पुस २६ गते जिल्ला प्रशासन कार्यालयमा पुण्यश्वर सहकारीले बचत फिर्ता नदिई कार्यालयसमेत बन्द गरेर भागेकाले आवश्यक गरिपाउँ भनी निवेदन दिएको पाइएको छ ।

पीडितले हेटौँडास्थित बागमती प्रदेशको सहकारी मन्त्रालयमा समेत निवदेन दिएका छन् । सोही निवेदनका आधारमा मन्त्रालयले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई खोजकार्य तथा आवश्यक कारबाहीका लागि पत्राचार गरेपछि फरार गौतम तथा सहकारीबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।रासस

२ वर्षपछि घट्यो बैंकको बेसरेट, कुन बैंकबाट ऋण लिँदा सस्तो ? (बेसरेटसहित) Read Previous

२ वर्षपछि घट्यो बैंकको बेसरेट, कुन बैंकबाट ऋण लिँदा सस्तो ? (बेसरेटसहित)

६ करोड खर्चेर काठमाडौंमा सीसीटिभी क्यामेरा जडान गरिँदै Read Next

६ करोड खर्चेर काठमाडौंमा सीसीटिभी क्यामेरा जडान गरिँदै