काठमाडौं । वाणिज्य बैंकहरूको बेसरेट घटेको छ । २०७७ चैत यता लगातार उकालो लागेको बैंकको बेसरेट चालु आवको तेस्रो त्रैमासमा भने घटेको हो ।
२ वर्षपछि पहिलोपटक बैंकहरूको बेसरेट घटेको हो । यद्यपि, अहिले पनि बैंकको बेसरेट ३ वर्ष यताकै धेरै अर्थात् दोहोरो अंकमै रहेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरूको औसत बेसरेट १०.४८ प्रतिशत रहेको छ । यो अघिल्लो त्रैमासको तुलनामा ०.३० प्रतिशत विन्दुले घटेको छ । गत पुस मसान्तमा बैंकहरूको औसत बेसरेट १०.७८ प्रतिशत रहेको थियो ।
यद्यपि, गत वर्षको चैतको तुलनामा भने बैंकहरूको बेसरेट बढेको छ । गत चैतमा औसत बेसरेट ८.९३ प्रतिशत रहेको थियो ।
बैंकिङ प्रणालीमा भएको तरलता अभावका कारण लगातार निक्षेपको ब्याजदर बढाउँदा लागत बढ्न गई बेसरेट पनि लगातार बढ्दो क्रममा थियो । तर, बैंकहरूले चालु आवको माघदेखि निक्षेपका ब्याजदर घटाएकाले चैतमसान्त आइपुग्दा बैंकको बेसरेट घटेको हो ।
माघ यता वाणिज्य बैंकहरूले दुई पटक निक्षेपको ब्याजदर घटाएका छन् । पुसमा मुद्दती निक्षेपको ब्याजदर १२.१३ प्रतिशत रहेकोमा दुई पटक घटेर अहिले ९.९९ प्रतिशतमा आइपुगेको छ । सोही दुई पटक घटाएको निक्षेपको ब्याजदर अहिले समायोजन हुँदा बेसरेट केही घटेको हो ।
बेसरेट घटेसँगै अब कर्जाको ब्याजदर समेत केही सस्तिने भएको छ । यस्तै, पछिल्लो समय ब्याजदर घटाउन माग गर्दै चौतर्फी दबाब रहेको थियो । त्यसैलाई मध्येनजर गर्दै बैंकहरूले चैतदेखि लागू हुने गरी कर्जामा लिइने प्रिमियम पनि १ प्रतिशत घटाएका थिए ।
बेसरेट पनि केही सस्तिएको र कर्जाको प्रिमियम पनि घटेकाले अब कर्जाको ब्याजदर पनि केही घट्ने देखिन्छ । विगतमा १८ प्रतिशतसम्म पुगेको कर्जाको ब्याजदर अब करिब १५ प्रतिशतमा पाउने देखिन्छ ।
बैंक तथा वित्तीय संस्थाबाट ग्राहकले लिने ऋणको ब्याजदर सोही आधादरले तय गर्छ । अहिले बैंकहरूको औसत बेसरेट साढे १० प्रतिशत रहेको छ । त्यसमा ५ प्रतिशत प्रिमियम जोडेर कर्जा लगानी गर्दा करिब १५ प्रतिशतमा ऋण पाउने देखिन्छ ।
कारण आगामी दिनमा बैंकको आधारदर घटेर ब्याजदर सस्तो हुने वित्तीय क्षेत्रका जानकारहरू बताउँछन् । प्रणालीमा तरलता अभावका कारण गत आवको दोस्रो त्रैमासदेखि संस्थाहरूले कर्जा लगानी गर्न सकेका छैनन् । निक्षेप बढाउन ब्याजदर मात्र वृद्धि गर्दा बैंकको लागत र कर्जा मात्र महंगिएको छ । अहिले भने तरलता भएपनि कर्जाको माग बढेको छैन । जसको कारण ब्याजदर घटाउनेमा बैंकको ध्यान गएको छ ।
कुन बैंकबाट ऋण लिँदा सस्तो ?
जुन बैंकको आधारदर कम छ त्यो बैंक तथा वित्तीय संस्थाले सस्तोमा कर्जा प्रवाह गर्छ भने जसको धरै छ त्यस्तो संस्थाले ब्याजदर महंगो लिने गरेको पाइन्छ । यद्यपि, ऋणको प्रकृति हेरेर आधारदरमा कति प्रिमियम थप्ने भन्ने कुराले पनि ब्याजदर सस्तो र महंगो तय गर्छ ।
चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकहरूको बेसरेट न्यूनतम ८ प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म पुगेको तथ्यांकले देखाउँछ ।
जसमा सबैभन्दा राष्ट्रिय वाणिज्य बैंकको बेसरेट ८.४७ प्रतिशत छ । यस बैंकबाट कर्जा लिँदा ग्राहकहरूले सबैभन्दा कम ब्याजदरमा ऋण पाउने देखिन्छ ।
यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकको बेसरेट ९.२७ प्रतिशत छ । नेपाल बैंक ९.९२, एभरेष्ट ९.९४, नबिल बैंक ९.९९, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कृषि विकास, सिटिजन्स, सिद्धार्थ, एनआइसी, एनएमबी, सानिमा, ग्लोबल आइएमई र कुमारी बैंकको आधार दर १० प्रतिशत बढी पुगेको छ ।
माछापुच्छ्रे, लक्ष्मी, एसबीआई, हिमालयन, प्रभु र प्राइम कमर्सियल बैंकको आधारदर ११ प्रतिशत रहेको छ ।