बीमा कम्पनीकाे चुक्ता पूँजी पुर्‍याउने समय थप, नपुगेकालाई हकप्रद ल्याउन दिइने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई ताेकिएकाे चुक्ता पूँजी पुर्‍याउने समय थपेको छ ।

प्राधिकरणले यसअघि चैत मसान्तसम्म पूँजी पुर्याउने समय सीमा तोकेको थियो । सो अवधिमा एक चौथाई कम्पनीले पनि चुक्ता पूँजी पुर्याउन नसकेपछि प्राधिकरणले ३ महिना समय थप गरिदिएको हो ।

प्राधिकरणका अनुसार अब बीमा कम्पनीहरूले आगामी असार मसान्तसम्म तोकिएको चुक्ता पूँजी कायम गर्नुपर्नेछ । प्राधिकरणले जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमाको २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीहरूको चुक्ता पूँजी पुर्याउने समय असारसम्म थपिएको बताए ।
‘प्राधिकरणले कम्पनीहरूलाई पूँजी वृद्धि गर्न दिएको समय असार मसान्तसम्म थप्ने निर्णय गरेको छ,’ उनले भने, ‘असार मसान्तसम्म कम्पनीहरूले आर्जन गरेको मुनाफा लगायत वित्तीय विवरण आउँछ । त्यसैले सो अवधिसम्म धेरै कम्पनीहरूले पूँजी पुुर्याउन सक्ने देखिन्छ ।’

कम्पनीको वित्तीय विवरण अनुसार तोकिएको चुक्त पूँजी कायम गर्न नसक्ने कम्पनीहरूलाई सोही अनुसार हकप्रद जारी गर्न दिने भनने विषय सहज हुने भएकाले समय थपिएको उनले बताए ।

प्राधिकरणले २०७८ चैत १० मा जीवन र निर्जीवन बीमा कम्पनीहरूलाई एक वर्षभित्र साढे दुई गुणाले चुक्ता पूँजी वृद्धि गर्न निर्देशन दिएको थियो । सो अवधिभित्र अधिकांश कम्पनीहरूले पूँजी कायम गर्न सकेका छैनन् । जसको कारण प्राधिकरणले समय थप गरेर हकप्रद जारी गर्न दिने बाटो खुला गरेको हो ।

प्राधिकरणले जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब चुक्ता पूँजी पुर्याउनुपर्ने सीमा तोकेको छ ।

हकप्रद जारी गर्न दिने

प्राधिकरणले मर्जरपछि पनि पूँजी कायम गर्न नसक्ने कम्पनीलाई हकप्रद सेयर जारी गरेर पूँजी पुर्याउन दिने व्यवस्था गर्ने भएको छ ।

प्राधिकरणका अधिकारीहरूका अनुसार अहिले नै कति प्रशित हकप्रद जारी गर्न दिने भन्ने निर्णय नभए पनि २५ देखि ३० प्रतिशतको लागि छलफल भएको बताउँछन् ।

उनीहरूका अनुसार यो सुविधा मर्जर तथा प्राप्तिको प्रक्रियामा सामेल भएका कम्पनीले मात्र पाउने छन् । हाल जीवन र निर्जीवन गरी एक दर्जन बढी बीमा कम्पनीहरू मर्जर र प्राप्तिको प्रक्रियामा छन् ।

बीमा कम्पनीको संख्या घटाउन सुरूमा मर्जरको नीति लिएको प्राधिकरणले अन्तिममा भने हकप्रद जारी गर्न दिने निष्कर्षमा पुगेको हो । सुरूमा मर्जर र बोनस सेयर दिएर मात्र पूँजी पुर्याउनु पर्ने विकल्प दिएको थियो ।

पूँजी कायम नगर्नेलाई अंकुश

तोकिएको समयसम्म पनि चुक्ता पूँजी कायम गर्न नसक्ने बीमा कम्पनीहरूलाई व्यवसायमा अंकुश लगाउने भएको छ । प्राधिकरणले पूँजीको आकार अनुुसारको व्यवसाय गर्न पाउने व्यवस्था गर्ने भएको हो ।

चुक्ता पूँजी कायम गर्न नसक्ने कतिपय कम्पनीहरू समेत मर्जरमा जान आलटाल गरिरहेका छन् । पौडेलले पूँँजी पुर्याउन नसक्ने कम्पनीलाई जोखिममा आधारीत व्यवसाय गरिने र बीमा ऐनले फोर्सफूल मर्जरको समेत व्यवस्था गरेको बताए ।

‘तोकिएको पूँँजी कायम गर्न नसक्ने कम्पनीका लागि उसको पूँजी अुसारको व्यवसायिक सीमा कायम गरिनेछ,’ उनले भने ।
बीमा ऐनले कम्पनीहरूलाई फोर्सफूल मर्जरको व्यवस्था समेत गरेका कारण सो अवस्था पनि लागुहुन सक्ने उनले बताए ।

एक दर्जन मर्जर प्रक्रियामा 

प्राधिकरणले पूँजी वृद्धिको निर्णय गर्नुअघि नेपालमा १९ जीवन र २० निर्जीवन गरी ३९ वटा बीमा कम्पनी थिए । कम्पनीको संख्या घटाउन पूँजी बढाउने नीति लिएपछि उक्त संख्या घट्दै गएको छ ।

हाल मर्जर प्रक्रियामा रहेका बीमा कम्पनीहरूको एकीकृत कारोबार सुरू गरेपछि कम्पनीको संख्या २८ वटामा झर्नेछ । यो संगै ११ वटा कम्पनीको अस्तित्व मेटिने भएको छ ।

एक वर्षको अवधिमा २१ वटा बीमा कम्पनी मर्जर प्रक्रियामा सहभागी भएका छन् । तीमध्ये जीवनतर्फ सूर्य र ज्योति मर्ज भई सूर्याज्योती लाइफ, रिलायन्स र सानिमा लाइफले एकीकृत कारोबार गरिसकेका छन् ।

हाल जीवन बीमातर्फ मर्जर प्रक्रियामा रहेका प्रभु लाइफ र महालक्ष्मी लाइफ, प्राइम लाइफ, गुराँस र युनियन इन्स्योरेन्स मर्जर प्रक्रिमा रहेका छन् । यी कम्पनीहरूको मर्जर प्रक्रिया सम्पन्न भइसकेपछि जीवन बीमा कम्पनीको संख्या १९ बाट १४ वटामा झर्नेछ ।

त्यसैगरी, निर्जीवनतर्फ एभरेष्ट र हिमालयनबाट हिमालयन एभरेष्ट, सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्ज भई सानिमा जीआइसी, सगरमाथा र लम्बिनी इनस्योरेन्सले सलिको नामबाट एकीकृत कारोबार गरेका छन् ।

त्यसैगरी, यस अवधिमा १२ वटा निर्जीवन बीमा कम्पनीहरू मर्जर प्रक्रियामा सहभागी भएका छन् । आइएमई जनरल र प्रुडेन्सियल, प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ, अजोड र युनाइटेड इन्स्योरेन्स मर्जर प्रक्रियामा रहेका छन् । यी कम्पनीहरूको मर्जर प्रक्रिया सम्पन्न भइसकेपछि निजीवन बीमा कम्पनीको संख्या १४ वटामा झर्नेछ ।

नेप्सेमा लगातार तेस्रो दिन गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

नेप्सेमा लगातार तेस्रो दिन गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

टोखामा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण हुने Read Next

टोखामा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण हुने