आरएसडीसी लघुवित्तको नाफा घट्यो, खराब कर्जा झन्डै ६ गुणा बढ्यो

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सामान्य गिरावट आएको छ । लघुवित्तले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रोे त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ८.८१ प्रतिशतले घटेको छ ।

लघुवित्तले चालु आवको चैत मसान्तसम्ममा ८ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ८२ लाख रुपैयाँ कम हो । लघुवित्तले गत वर्षको पहिलो त्रैमासमा ९ करोड ४३ लाख खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढे पनि संचालन घट्नुका साथै इम्पेयरमेन्ट चार्ज बढ्दा लघुवित्तको नाफामा गिरावट आएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २९.२२ प्रतिशत बढेर २१ करोड ४० लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा ८.८१ प्रतिशतले घटेर १२ करोड २८ लाखमा सीमित भएको छ ।

हाल ८६ करोड ९५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा ६ करोड ८४ लाख र जगेडा कोषमा ९ करोड ३३ लाख रुपैयाँ संचित छ । यस अवधिमा लघुवित्तको वितरण योग्य नाफा ५ करोड ४३ लाख रुपैयाँ छ ।

नाफामा गिरावट आएसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा ठूलो गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २.४३ रुपैयाँ घटेर १३.१९ रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ ११८.६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३८.५१ गुणा छ भने खराब कर्जा झन्डै ६ गुणाले बढेर १.३७ प्रतिशत पुगेको छ । गत वर्ष सोही अवधिमा लघुवित्तको खराब कर्जा ०.२३ प्रतिशत मात्र थियो ।

सिटी होटलको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

सिटी होटलको आइपीओ भर्ने आज अन्तिम दिन

बेनी जोमसोम सडक दैनिक ६ घण्टा बन्द, रुप्सेमा बेलिब्रिज निर्माण हुँदै Read Next

बेनी जोमसोम सडक दैनिक ६ घण्टा बन्द, रुप्सेमा बेलिब्रिज निर्माण हुँदै