वैशाख २२ देखि चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने

काठमाडौं । उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले वैशाख २२ गतेदेखि सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० आयोजना हुने भएको छ ।

चितवनका उद्योगीहरूको छाता संस्थाको रुपमा रहेको चितवन उद्योग संघको आयोजना, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवद्र्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टको व्यवस्थापकीय साझेदारीमा ३ दिने औद्योगिक प्रदर्शनी हुन लागेको हो ।

सोमबार नेपाल उद्योग परिसंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीबारे विस्तृत जानकारी गराइएको हो । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बेलामा उद्योगी व्यवसायीहरूको मनोबल बढाउनुुपर्ने खाँचो रहेको बताए ।

कठिन परिस्थितीमा समेत चितवन उद्योग संघले गर्ने अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीले उद्योगी व्यवसायीलाई सकारात्मक सन्देश दिने उनले बताए ।

प्रदर्शनी आयोजक चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले प्रर्दशनी नेपाली उद्यमीहरूलाई नयाँ प्रविधिबारे जानकारी गराउँदै युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त माध्यम बन्ने विश्वास व्यक्त गरे ।

प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरूको उत्पादन र सेवाका प्रदर्शनी हुने उनले जानकारी गराए । यी उद्योगहरूलाई उपयोगी हुने आधुनिक मेशिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनीसहित राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरू रहने छन् ।

निःशुल्क प्रवेशको व्यवस्था हुने यस प्रदर्शनीमा देशका विभिन्न जिल्लाका उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमीहरू, विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरू, नेपाली उद्योगहरूका सञ्चालकहरू, लगानीकर्ताहरू तथा उच्च व्यवस्थापकहरू, उद्यमीका व्यवसायिक परामर्शदाताहरू, वित्तिय सेवा प्रदायकहरू लयागतको सहभागीता रहनेछ ।

लयमा आउँदै घरजग्गा कारोबार, चैतमा यस वर्षकै धेरै किनबेच Read Previous

लयमा आउँदै घरजग्गा कारोबार, चैतमा यस वर्षकै धेरै किनबेच

सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन : अर्थमन्त्री Read Next

सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन : अर्थमन्त्री