लयमा आउँदै घरजग्गा कारोबार, चैतमा यस वर्षकै धेरै किनबेच

काठमाडौं । चैतमा चालु आर्थिक वर्षकै सर्वाधिक घरजग्गा किनबेच भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार चैतमा देशभर ४९ हजार १५० घरजग्गा किनबेच भएका छन् ।

चालु वर्षको पुसदेखि उकालो लागेको घरजग्गा किनबेच फागुनमा सुस्ताए पनि फेरि चैतमा उकालो लागेको हो । फागुनको तुलनामा चैत महिनामा १० हजार बढी घरजग्गा किनबेच भएको छ।

सरकारले गत जेठमा भूउपयोग नियमावली ल्याए यता ओरालो लागेको घरजग्गा किनबेच पुसदेखि बढ्दै गएको छ । विभागका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्षको चैतमा २० हजारले किनबेच घटेको छ । गत वर्षको चैतमा ७० हजार घरजग्गा किनबेच भएको थियो ।

गत वर्ष मासिक ७० हजारको हाराहारीमा घरजग्गा किनबेच हुने गरेकोमा भूउपयोग नियमावली कार्यान्वयनमा ल्याएपछि मन्दी देखिएको थियो । नियमावलीले जग्गाको वर्गीकरण गरेर मात्र कित्ताकाट गर्नुपर्ने पर्ने व्यवस्था गरेको छ ।

सो व्यवस्था अनुसार सबै स्थानीयतहले गत मंसिर भित्रै जग्गाको वर्गीकरण गरिसक्नु पर्ने थियो । तर, हालसम्म ६०० भन्दा बढी स्थानीय तहले वर्गीकरण गरेका छैनन् । जसको कारण कित्ताकाटमा भएकको कडाइका कारण कारोबार वृद्धि हुन सकेको थिएन ।

पछिल्लो समय भने वित्तीय प्रणालीमा तरलता सहज, ब्याजद घट्नु, कित्ताकाट खुकुलो जस्ता कारणहरूले घरजग्गा किनबेच वृद्धि भएको देखिन्छ ।

घरजग्गा किनबेचमा आएको मन्दीका कारण अर्थतन्त्रको अन्य क्षेत्रमा समेत समस्या देखिएको भन्दै पुरा नै व्यवसथा बमोजिम कित्ताकाट खुला गर्नुपर्ने अर्थमन्त्रीदेखि प्रधान्मन्त्रीले समेत अभिव्यक्ति दिइरहेका छन् ।

घरजग्गा व्यवसायीहरूले पनि कित्ताकाटमा गरेको कडाइको व्यवस्था हटाउन माग गरिरहेका छन् । भूउपयोग नियमावलीले परिकल्पना र व्यवस्था गरे अनुसार समयमै जग्गाको वर्गीकरण गर्न नसक्दा किनबेच र कित्ताकाट अझै फस्टाउन सकेको देखिँदैन ।

कुन महिना कति किनबेच ?

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैतमा यस वर्षकै धेरै घरजग्गा किनबेच (लिखत पारित) भएको छ ।

त्यस्तै, फागुनमा ४० हजार ७३४, माघमा ४१ हजार ८६, पुसमा ३८ हजार ८७१, मंसिरमा २९ हजार १८४ घरजग्गा किनबेच भएको थियो ।

त्यसैगरी, चालु आवको असोजमा सबैभन्दा कम २५ हजार ७८९ घरजग्गा किनबेच भएको विभागको तथ्यांक छ । त्यस्तै, कात्तिकमा २७ हजार ९३९, साउनमा ३३ हजार ८३४, भदौमा ३४ हजार ७२० घरजग्गा किनबेच भएको थियो ।

पुसदेखि देशका मुख्य सहरी क्षेत्रमा कित्ताकाट खुलेसँगै बढ्न थालेको देखिन्छ । यसका साथै अर्थतन्त्रमा आयको संकुचन, महँगो ब्याजदर, घरजग्गा र्जामा गरिएको कडाइ यथावत लगायत कारणले पनि केही प्रभावित भएको । यद्यपि, पछिल्लो अवधिमा सुधार हुँदै गएको तथ्यांकले देखाउँछ ।

यी हुन धेरै किनबेच भएका ठाउँ

विगतमा जस्तै यो महिना पनि तराईका जिल्लाहरूमै धेरै घरजग्गा किनबेच भएको छ । विभागका अनुसार चैतमा धनुषाको जनकपुर मालपोत कार्यालयबाट १ सबैभन्दा धेरै ९ सय २१ वटा घरजगगा किनबेच भएको छ ।

मोरङको बेलबारी १ हजार ७६४, नेपालगञ्ज बाँके १७ सय ५८, इनरुवा १ हजार ७२३ , भद्रपुर झापा १ हजार ३३७ र काभ्रेपलाञ्चोक मालपोत कार्यालयबाट १ हजार २५८ घरजग्गा किनबेच गरेको विभागले जनाएको छ ।

उपत्यकामा भक्तपुर मालपोत कार्यालयबाट सबैभन्दा धेरै १ हजार १८९ वटा घरजग्गा किनबेच भएको छ । ललितपुर मालपोत कार्यालयबाट ११ सय ४४ वटा,गोटीखेल ३०, कलंकी ८२९ वटा, चावहिल ५१९, साँखु ५१४, डिल्लिबजारबाट २२८ घरजग्गा किनबेच भएका छन् ।

राजस्व पनि यस वर्षकै सर्वाधिक

घरजग्गा कारोबार वापत प्राप्त हुने राजस्व संकलन यस वर्षकै सर्वाधिक चैतमा भएको छ । विभागका अनुसार किनबेच बढेसँगै त्यसबाट सरकारले ४ अर्ब ५० करोड ९४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

९ महिनामा घरजग्गा किनबेचबाट कुल ३० अर्ब रुपैयाँ राजस्व संकल भएको छ । गत फागुनमा घरजग्गा किनबेच घटेसँगै पनि राजस्व संकलन पनि घटेको थियो ।

फागुनमा ३ अर्ब ५६ करोड, माघमा ३ अर्ब ७५ करोड, पुसमा ३ अर्ब ७१ करोड रुपैयाँ, मंसिरमा २ अर्ब ६५ करोड रुपैयाँ, कात्तिकमा ३ अर्ब, असोजमा २ अर्ब ५६ करोड, भदौमा ३ अर्ब ५६ करोड र साउनमा २ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

चालु वर्षमा साढे १४ अर्ब नाफा विदेशियो Read Previous

चालु वर्षमा साढे १४ अर्ब नाफा विदेशियो

वैशाख २२ देखि चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने Read Next

वैशाख २२ देखि चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने